यो एक बाबु र छोराको कथा हो। बाबु शंकरले इञ्जिनियरिङ पढेर सकेका छन्। तर कुनै जागिर नपाएर आर्थिक समस्या झेलिरहेका हुन्छन्। उनका सपना भने धेरै छन्। खासगरी आफ्नो छोराको भविष्यका लागि रंगीन सपना देखेका हुन्छन्।
उनले छोरालाई सामान्य स्कुलबाट निकालेर महँगो स्कुलमा भर्ना गरिदिन्छन्। स्कुलको शुल्क तिर्न उनलाई निकै समस्या पर्छ। तर छोराको भविष्यकै लागि सबै पीडा मनभित्र दबाएर उनी काममा खटिन्छन्।
उता उनका बालख छोरा अप्पुलाई पनि नयाँ स्कुलले बेग्लै पीडा दिन्छ। महँगो र धनीहरू पढ्ने स्कुलमा उनलाई घुलमिल हुन सकस हुन्छ।
सबैले उनलाई ‘शून्य’ बराबर पनि मान्दैनन्। तर उनी पनि आफ्ना बाबुको खुसीका लागि केही नभनी सबै कुरा चुपचाप सहेर बस्छन्।
एक दिन शंकरको दुर्घटना हुन्छ। उनी हलचल गर्न नसक्ने अवस्थामा हुन्छन्।
यसले अप्पुलाई निकै दुःखी बनाउँछ। अझ उनको बिजोग पनि हुन्छ। आफ्ना बुबाको हेरचाह गर्नु कि, पढ्नु कि, काम गर्नु?
अप्पु आफूले सक्दो लागि पर्छन्।
उनी आफ्नो लक्ष्यमा सफल हुन्छन् कि हुँदैनन्, यसका लागि फिल्म हेर्नुहोला।
तर यहीबीच फिल्ममा यस्तो रहस्य उजागर हुन्छ, जसले अप्पु, उनका बुबा र दर्शकलाई पनि चकित पारिदिन्छ।
अब के यी बाबुछोराको समस्या समाधान होला? वा जीवनले अर्कै मोड लेला?
अनि कुनै बेला ‘जिरो’ भनिएका अप्पु कहिल्यै ‘हिरो’ हुन सक्लान्?
फिल्मको मुख्य कथा यही हो।
बाबुछोराको सम्बन्ध र सामीप्यतालाई केन्द्रमा राखेर बनेको ‘जिरो’ कन्नड भाषाको फिल्म हो। यसले समीक्षकहरूबाट खुब प्रशंसा र थुप्रै अवार्डहरू पनि जितेको छ।
गिरिदेव हसनको पहिलो निर्देशनमा बनेको जिरोलाई ‘मन छुने’ कथा मानिन्छ।
हेर्नुहोस् युट्युबमाः