के धोका पाउँदा वा सम्बन्ध तोडिँदा हामीलाई फाइदा पनि हुन सक्छ ?
तपाईंलाई लाग्यो होला, यो कस्तो प्रश्न, सम्बन्ध तोडिँदा पनि कसलाई राम्रो लाग्छ र ? यसो हुँदाको फाइदा त तपाईंले कल्पना पनि गर्नुभएन होला !
‘द ब्रेक–अप मोनोलग्स’ नामको किताब लेख्न रोजी विल्बीको भनाइमा सम्बन्ध टुट्नुका विभिन्न फाइदा हुन्छन् । राजी कुनै बेला ‘द ब्रेक–अप मोनोलग्स’ नाममै पोडकास्ट चलाउँथिन् । पछि उनले यही नामबाट किताब लेखिन् ।
पुस्तकमा उनले आफ्नो निजी जीवनका कुरा गरेकी छन् । यसबाहेक पोडकास्टमा आउने अतिथिसँग कुराकानीका क्रममा उनले मानवीय सम्बन्धबारे जे बुझिन्, ती सबैलाई आफ्ना पुस्तकमा ठाउँ दिइन् ।
किताब लेख्न उनले विभिन्न थेरिपिस्ट, समाजशास्त्री र वैज्ञानिकसँग पनि कुरा गरिन् । आफ्नो किताबबारे उनले बीबीसी रिल्ससँग कुरा गरेकी छन् ।
रोजीका अनुसार, धोकाबाट हामीले धेरै कुरा सिक्छौँ । ‘ब्रेक–अपलाई कहिल्यै राम्रो मानिदैन तर यसबाट तपाईंको भलो हुने कुरा पनि उत्तिकै सम्भव छ,’ उनले भनिन् ।
आफैँलाई सम्झाउने मौका
रोजी विल्बीका अनुसार, ब्रेक–अपले हामीलाई सम्बन्धमा कस्तो हुने, कसरी सम्बन्ध राख्नेलगायत कुरा सिक्ने अवसर दिन्छ । कहिलेकाहीँ त धोका पाएपछि वा मन भाँचिएको पीडादायी अनुभवबाट नै हामीले आफ्नोबारेमा सही जानकारी थाहा पाउँछौँ । यसबाट हामी कच्चा निर्णय गर्नबाट जोगिन थाल्छौँ ।
मानसिक स्वास्थ्य र व्यवहार विज्ञानका विशेषज्ञ डा. समिर मल्होत्राको भनाइमा कहिलेकाहीँ सम्बन्ध तोडिएपछि हाम्रो आँखा खुल्छ ।
उनी भन्छन्, ‘ब्रेक–अपले तपाईंभित्रको कमी अवगत गराइदिन्छ । अनि तपाईंले आफूलाई सुधार्ने मौका पाउनुहुन्छ । तर, ब्रेक–अपलाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने कुराले धेरै फरक पार्छ । अर्काकै गल्ती मात्रै खोज्नुभयो भने तपाईंले आफूलाई सुधार्ने प्रयास गर्नुहुने छैन ।’
अनुभव अलगअलग
मनोवैज्ञानिक पूजा शिवम् जेटली ब्रेक–अप सबैका लागि कठिन हुने र यसबाट निस्कने सबैको अनुभव फरक फरक हुने बताउँछिन् । सम्बन्ध टुट्नु हाम्रा लागि एउटा पाठ हुने जेटलीको भनाइ छ ।
उनी भन्छिन्, ‘ब्रेक–अप भएपछि आफ्नोबारे जानेर आफूलाई सुधार्ने मौका पाइन्छ । सम्बन्धमा आफूबाट के गल्ती भएको छ भन्ने कुरा स्वीकार्न आवश्यक हुन्छ ।’
धोका पाउनु र नशाको लत
रोजी विल्बी धोका पाउनुको तुलना नशाको लतसँग गर्छिन् । उनका अनुसार, सम्बन्ध तोडिएपछि मानिसको व्यवहार नशाको लत लागिसकेको व्यक्तिलाई नशा गर्न रोकेजस्तै हुन्छ ।
डा. समिरको भनाइमा पनि लभ केमिकल अर्थात् अक्सिटोसिन हार्मोन दिमागभित्र बढ्दा अरुप्रतिको आकर्षण बढ्छ । कुनै पनि तरिकाले प्रेममा यो देखिन्छ ।
उनी भन्छन्, ‘दिमागभित्र कहिलेकाहीँ डोपामिन रिवार्ड पाथवे सक्रिय हुन्छ । यस कारण तपाईं त्यो मान्छेबारे बारम्बार भेट चाहनुहुन्छ । तर, आफूले चाहेको व्यक्ति तपाईंले पाउनुभएन वा सम्बन्ध टुट्यो भने तपाईंको अवस्था कुनै व्यक्तिले ड्रग्स नपाउँदा भएजस्तै अवस्था तपाईंको हुन्छ ।’
उनका अनुसार, नशाको आदतमा पनि डोपामिन रिवार्ड पाथवे सक्रिय हुन्छ ।
तुरुन्त बनाउन हुन्छ नयाँ सम्बन्ध ?
रोजी विल्बीको भनाइमा सम्बन्ध कायम गर्न निकै मिहेनत गर्नुपर्ने हुन्छ । यो एउटा मुस्किल काम हो, किनकि सम्बन्धका कारण तपाईंको जिन्दगीमा धेरै उथल–पुथल मच्चिएको हुन्छ । तपाईंले अर्को एउटा व्यक्ति र उसको राम्रा नराम्रा पक्षसँग डिल गर्नुपर्ने हुन्छ ।
उनी भन्छिन्, ‘एउटा सम्बन्धविच्छेदपछि अर्को सम्बन्ध बनाउनुभन्दा पहिले तपाईंले थोरै समय आफ्नोबारेमा सोच्न आवश्यक हुन्छ । तपाईं भिक्षु वा योगी बन्नुहोस् र सेक्सबाट पूर्णतः टाढा हुनुहोस् भन्ने यसको मतलब होइन ।’
आफैँसँग सम्बन्ध आवश्यक
डा. समिर मल्होत्रा पनि रोजी विल्बीकै कुरालाई अघि बढाउँछन् । उनी भन्छन्, ‘कहिलेकाहीँ मानिसलाई लाग्छ कि एउटा सम्बन्धविच्छेद भयो भने चाँडै अर्को सम्बन्ध बनाउनुपर्छ । यो गलत छ । हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध आफू स्वयम्सँग हुन्छ । यसमा थोरै नियम, थोरै सन्तुलन, थोरै अनुशासन हुन आवश्यक छ ।’
डा. मल्होत्राका अनुसार, केही रचनात्मक हबिज वा रुचिमा आफ्नो ऊर्जाको प्रयोग गर्नुपर्छ ।
उनको भनाइमा आफूसँग सम्बन्ध सुधार्ने प्रयास हुनुपर्छ र आफ्नो कमीलाई बुझ्दै त्यसलाई हटाउने कोसिस गर्नुपर्छ । हामीले कसैलाई स्टक गर्न हुँदैन (उसको पछि लाग्नु हुँदैन) । आफूलाई कोही न कोही त चाहिन्छ भनेर आवेगमा कुनै नयाँ मान्छेलाई समात्नु पनि हुँदैन ।
उनी भन्छन्, ‘सम्बन्धमा खासगरी दुई कुरा महत्त्वपूर्ण हुन्छन्, हेल्थी कनेक्टेडनेस (स्वस्थ सामीप्यता) र हेल्थी डिस्टेन्स (स्वस्थ दूरी) । सजिलो शब्दमा यसलाई भन्दा एकअर्कासँग जोडिने तर यसमा केही दूरी पनि कायम गर्न आवश्यक हुन्छ । किनकि हरेक मानिसले आफूलाई पर्सनल स्पेस खोज्छ ।’
ब्रेक–अपपछिको अवस्थाबारे पूजा शिवम् जेटली भन्छिन्, ‘तपाईं फरकफरक मानिससँग भेटघाट गर्न सक्नुहुन्छ । स्वस्थ आदतहरू सुरु गर्न सक्नुहुन्छ । आफ्नो जिन्दगीलाई नयाँ शिराबाट जिउन सक्नुहुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले आफ्नै महत्त्व बुझ्न थाल्नुहुनेछ । ब्रेक–अपपछि तपाईं खुसी रहन सक्नुहुन्छ ।
बी.बी.सी हिन्दीबाट अनुवाद गरिएको ।