इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ६ सांसदले इलाम–२ मा मतदाताको धारणा बुझेका छन् ।
रास्वपाले इलामका ६ स्थानीय तहमा खटिएर मतदाताको धारणा बुझेका हुन् । सांसद सोविता गौतम इलाम नगरपालिका, सांसद गणेश पराजुली देउमाई नगरपालिका, सांसद मनिष झा माई नगरपालिका, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, सांसद असिम शाह फाकफोकथुम गाउँपालिका र सांसद हरि ढकाल माङसेबुङ गाउँपालिकामा खटिएका थिए ।
उपनिर्वाचनको उम्मेदवार चयनका लागि मतदाताको धारणा बुझेको सांसद सोविता गौतमले बताइन् । ‘मतदाताको अपेक्षा बमोजिमको उम्मेदवार चयन गर्न सर्वेक्षणका लागि नै आएका हौं । सर्वेक्षणको निष्कर्ष बमोजिम इलामको जनताले चाहेको उम्मेदवार नै पार्टीले पठाउने हो’, उनले भनिन् ।
यो पनि पढ्नुहोस्
रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचनसम्म पूर्णकालीन रुपमा इलाममा खटाएको छ । ४ मंसिर २०७९ मा भएको चुनावमा यो क्षेत्रबाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए भने उनीसँग झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का पराजित भएका थिए ।
२६ भदौमा नेम्वाङको निधन भएपछि यहाँ आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने तय भइसकेको छ । रास्वपाबाट इलाम–२ को उपनिर्वाचन उम्मेदवारमा रमेश प्रसाईं र महेन्द्रकुमार थापाको नाम चर्चामा छ ।
रास्वपा सहमहामन्त्री बुर्लाकोटीले आम चुनावको बेला भन्दा इलाम–२ मा पार्टीको अवस्था धेरै सुधार भएको बताए । ‘शून्य उपस्थितिमा गत चुनावमा पाएको मत सम्मानजनक हो, अहिले त हामीले काम गरेर देखाइसकेपछिको अवस्था हो, संसदमा जनताको बलियो आवाज प्रतिनिधित्व गराइसकेको अवस्था हो’, उनले भने ।