काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो । फागुन ३ गतेबाट भने मूल्य उकालो लागेको हो ।
किन बढिरहेको छ मूल्य ?
सुनको मूल्य उतारचढाव हुनुमा नेपालको कुनै पनि भूमिका रहन्न । अन्तर्राष्ट्रिय बजारमा दिनभर हुने कारोबारपछि अन्तिम मूल्य जति कायम हुन्छ, त्यसकै आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य निर्धारण गर्ने हो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार एकै दिन १. ४४ प्रतिशतले बढेर प्रतिऔंस २११३ अमेरिकी डलर कायम भयो । जसले गर्दा नेपाली बजारमा मंगलबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ सुनको मूल्य बढ्यो ।
अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । केही मुख्य विषय: अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन्।
यतिबेला यिनै अधिकांश विषयका कारण सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार अहिले यी सबै अवस्थाले प्रभाव पारेको छ, जसले गर्दा मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढ्ने अनुमान गर्न थालिएको छ ।