नेपाल साफ यू- १६ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को फराकिलो अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपाललाई पहिलो हाफमै ६ गोल हानेको भारतले दोस्रो हाफमा थप ४ गोल थपेको थियो । खेलको दोस्रो मिनेटमै भारतकी अनिता डुङडुङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिइन् । खेलको १४औँ मिनेटमा पर्ल फर्नान्डेजले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । त्यसपछि खेलको २२औँ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै भारतको अग्रता ३-० बनाएकी थिइन् ।
त्यसको ३ मिनेटपछि खेलको २५औँ मिनेटमा बोनफिलिअ सुल्लाइले गोल गर्दै ४-० को अग्रता दिलाइन् । यस्तै खेलको ३२औँ मिनेटमा गुरलिन कौर र खेलको ४३ औँ मिनेटमा पर्ल फर्नान्डेजले गोल गरेपछि भारत पहिलो हाफमै नेपालविरुद्ध ६-० को अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमै नेपालकी डिफेन्डर मिनमाया श्रेष्ठले आत्मघाती गोल गरेपछि भारतले अग्रता ७-० को स्थितिमा पुर्यायो । खेलको ५८औँ मिनेटमा गुर्नाज कौर, ७७औँ मिनेटमा गुरलिन कौर र ७९औँ मिनेटमा रिहान्न लिज जाकोबले गोल गर्दै भारतलाई १०-० गोलअन्तरको जित दिलाए ।
जितसँगै भारतले बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको छ । फाइनल खेल आइतबार हुनेछ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई पराजित गरेको थियो ।