तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो गाउँमा सल्किँदा १७ घर जलेका छन् ।
गाउँको पुछारको सल्किएको आगोले सिङ्गो वनसँगै आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । राति अबेर मात्रै आगो नियन्त्रणमा आएको थियो। गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् । दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभए पनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम राई, अश्विनकुमार राई, कृष्णबहादुर घतानी, धनप्रसाद राई, कल्पना राई, शुकवीर राई, जयकुमार घतानी, मनप्रसाद राई र जयमान राईको घर जलेको छ । घर जलेपछि उनीहरू विस्थापित भएका छन् ।
त्यस्तै, हाल मान्छे नरहेका सरस्वती राई, डम्बरबहादुर घतानी, बिर्खबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, लाइनबहादुर थापा, तिलबहादुर थापा र सेरबहादुर बुढाथोकीको घरमा पनि आगोले क्षति गरेको छ । पूर्वी पहाडमा बसाइँसराईले गाउँ रित्तिँदै गर्दा गाउँको जग्गाजमिन र घर बिक्री नभएका कारण मानिसहरूले छिमेकीलाई जिम्मा छोडेर तराईतिर बसाइँ सर्ने क्रम रहेको छ ।