इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुरको भैँसी प्रथम

इटहरी / भैँसी पालक किसानहरू घट्दै गएपछि भैँसी पालनतर्फ आकर्षित गर्न इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ ।

भैँसी पालन गर्दै आएका किसानहरू अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसी पालक किसानहरूको प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सुनसरी र मोरङ जिल्लामा भैँसी पालन गर्दै आएका किसानहरूबीच प्रतिस्पर्धा आयोजना गरेको हो ।

दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । ३० जना किसानका ५० वटा भैँसी प्रतियोगितामा सहभागिता गराइएको थियो ।

प्रतियोगितामा इटहरी ३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ । यस्तै, सुन्दरहरैचा ५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ ।

यसैगरी सुन्दरहरैँचा ५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव राजन धमलाले जानकारी दिए ।

प्रतियोगिताका निर्णयकमा भेटनरी अस्पताल सुनसरीका प्रमुख कुमार सिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख डा. दुर्गाबहादुर श्रेष्ठ र इलारी संस्थाका कार्यक्रम संयोजक एणमणि नेपाल रहेका थिए ।भैँसीको स्वास्थ्य, रुप, जिउडाल, जात, दुधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णयक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।

प्रतियोगिताका विजेता भैँसी धनी किसानहरूलाई नगदसहित प्रमाण पत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक धमलाले जानकारी दिए । पछिल्लो समय किसानले भैसी पाल्न छाडेकाले यसको महत्व बुझाउन प्रतियोगता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए ।

भैँसी पालक किसानहरूलाई प्रोत्साहन गर्न वर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति