बडा हुआ तो क्या हुआ पेड खजुर
पक्षी को छायाँ नहीं फल लगे अति दूर !’
सन्त कविरदासको यो दोहाले भन्छ- ‘खजुरको रूख जति नै बढे पनि के भयो र ? जब पक्षीको लागि त्यसले छायाँ दिन सक्दैन, फल लागेर पनि टिपी खान सकिंदैन ।’
हामीले जे-जति उपलब्धि हासिल गर्छौं, चराचर जगतका लागि त्यो के–कति उपयोगी थियो भन्ने कुरा महत्वपूर्ण छ । यो प्रसंगलाई खासगरी शैक्षिक उन्नयनमा जोड्न सकिन्छ । बालबालिका पढ्छन्, उत्तीर्ण हुन्छन्, शैक्षिक योग्यता हासिल गर्छन् । तर, के आर्जित ज्ञानले उसको जीवनलाई सहज र सरल बनायो ? परिवार, समाज र राज्यका लागि कुनै योगदान पुग्यो ? प्रकृति, पर्यावरण र पशु प्राणीका लागि हितकर रह्यो ?
यी प्रश्नहरूको फेरो त्यहीं जोडिन्छ, जहाँबाट उनीहरूको शैक्षिक पृष्ठभूमि बन्यो । अर्थात् कहाँ पढे, कसरी पढे, कस्तो पढे भन्ने कुरा यहाँ महत्वपूर्ण हुन्छ । कुरा पढाइको मात्र होइन, उनीहरूले हुर्कनका लागि कस्तो अनुकूलता पाए ? साथीसँगी कस्ता थिए ? खेल्ने ठाउँ र खेल्ने कुरा के–कति थिए ? यी सबै कुरा बालबालिकाको सर्वाङ्गीण विकासका लागि आधारशिला हुन् ।
जब बालबालिकाले सही धरातलमा टेक्न पाउँछन्, सही बाटो रोज्न र हिंड्न पाउँछन् तब उनीहरू सही गन्तव्यमा पुग्छन् । यो भनेको उनीहरूले पाउने शिक्षा–दीक्षा, वातावरण र मार्गदर्शन हो । यसका लागि अभिभावकले त्यही ठाउँमा बालबालिकालाई टेकाउनु जरूरी हुन्छ, जो उनीहरूका लागि उर्बर र उत्प्रेरक छन् ।
हामीले जुन बालबालिका हुर्काइरहेका छौं त्यो भोलिको युगको लागि हो । आर्टिफिसियल इन्टलिजेन्स (एआई)सँगै उच्चतम प्रविधिले छलाङ मारिरहेको त्यो युगमा उनीहरूले आफूलाई कति दर्बिलो गरी उभ्याउँछन् ? कति रचनात्मक जीवन बाँच्छन् ? कसरी दृढतापूर्वक प्रतिस्पर्धा गर्छन् ? यसमा आज विवेचना गरेर मात्र पुग्दैन उनीहरूका लागि सोही अनुरुपको आधार पनि निर्माण गरिदिनुपर्छ । यसका निम्ति शैक्षिक वातावरण, संगत र संस्कार एउटा बलियो जग हुनसक्छ ।
बालबालिकाका लागि जरूरी छ उर्बर धरातल
वर्तमान परिप्रेक्ष्यमा विद्यालयले बालबालिकाको सीप र ज्ञान विकासको लागि महत्वपूर्ण भूमिका खेल्छ । विद्यालयमा पढ्ने, अभ्यास गर्ने, लेख्ने, खेल्ने, संगत गर्ने र प्राप्त गर्ने विभिन्न किसिमका सिकाइ अनुभवहरूले उनीहरूको सुदूर भविष्यको बाटो तय गरिदिन्छ । तर कस्तो विद्यालय ? यो प्रश्नमा अभिभावकले मन्थन र चिन्तन गर्नु जरूरी हुन्छ । किनभने सबै विद्यालय एकनास हुँदैन । त्यसैले बालबालिकाका लागि उपयुक्त विद्यालय छनोट गर्नु अभिभावकको एक उत्कृष्ट कला हो ।
महान् चिन्तक चाणक्य भन्छन्- ‘कुनै पनि निर्णय लिनुअघि स्वयम्सँग तीन वटा प्रश्न गर्नुहोस् । म के गर्दैछु ? यसको नतिजा के हुनसक्छ ? यो कति सफल हुनसक्छ ?’ जब यी प्रश्नहरूको सन्तोषजनक उत्तर मिल्छ तब अगाडि बढ्न उनले सुझाएका छन् ।
हाम्रो आम कमजोरी के हुन्छ भने अरूको प्रभाव र दबाबमा निर्णय लिने । बालबालिकालाई शिक्षा–दीक्षा दिलाउने कुरामा भने यस्तो निर्णय आत्मघाती हुनसक्छ । यो वाक्य कठोर सुनिन्छ, तर सत्य यही हो ।
किनभने आज हामीले गर्ने सानो लापरबाहीले भोलि हाम्रा बालबालिका गलत दिशामा मोडिन सक्छन् । दोबाटोमा अलमलिन सक्छन् । सही गन्तव्य पहिल्याउन असमर्थ हुनसक्छन् । र, जीवनको सार्थकता गुमाउन सक्छन् ।
त्यसैले सचेत र जिम्मेवार अभिभावकको नाताले हामी विद्यालय छनोट गर्ने बेला संवेदनशील हुनु जरूरी छ । आज हामीले गर्ने उचित छनोटले भोलि हाम्रा बालबालिकालाई सही लक्ष्य पहिल्याउन सहज हुनेछ । उनीहरू पथभ्रष्ट हुने छैनन् । कुकर्म गर्ने छैनन् । बाँच्नका लागि असत्य, झुट र हिंसाको सहारा लिनुपर्ने छैन ।
विख्यात लेखक भिक्टर ह्युगोको भनाइ नै छ- ‘जसले विद्यालयको ढोका खोल्छ, उसले जेलको ढोका बन्द गर्छ ।’
सही विद्यालय छनोटको आधार
बालबालिकाका निम्ति कस्तो शैक्षिक धरातल उर्बर हुनसक्छ त ? यसका केही साझा आधार छन् । विद्यालय छनोट गर्नुअघि अभिभावकले त्यसको सिंहावलोकन गर्नु उचित हुन्छ । भनिन्छ, केही कदम हिंडिसकेपछि सिंह रोकिन्छ र पछाडि फर्केर हेर्छ । ‘मैले हिंडेको बाटो कस्तो थियो ? मेरो कदम सही ठाउँमा थियो ?’ समीक्षा गर्छ । तब मात्र उसले अगाडिको यात्रा तय गर्छ ।
विद्यालय छनोट गर्दा अभिभावकले विद्यालयको इतिहास एवं पृष्ठभूमिलाई जान्नुपर्छ । सो विद्यालयको विगत कस्तो थियो ? त्यसका व्यवस्थापकीय समूह र शैली कस्ता थिए ? त्यहाँ पढेका विद्यार्थी कस्ता भए ? यावत् कुरामा सिंहावलोकन गर्नुपर्छ ।
त्यससँगै विद्यालयको शिक्षण विधि, शैक्षिक स्रोत, भौतिक पूर्वाधार लगायत अतिरिक्त क्रियाकलाप र शैक्षणिक अनुभव आदिबारे जान्नुपर्छ ।
यो पनि पढ्नुहोस् ।
१. पाठ्यक्रम पढाइन्छ कि पाठ्यपुस्तक ?
विद्यालय छनोटको पहिलो कडी यही हुनसक्छ— तपाईंले रोज्नुभएको विद्यालयमा पाठ्यक्रम पढाइन्छ वा पाठ्यपुस्तक ? बालबालिकाको मनोविज्ञान, मस्तिष्कले ग्रहण गर्न सक्ने क्षमताका आधारमा पाठ्यक्रम विकास गरिएको हुन्छ । सोही आधारमा कसरी बालबालिकालाई कुनै पनि कुरा सिकाउने, बुझाउने र अभ्यास गराउने भन्ने तय हुन्छ ।
पाठ्यपुस्तक भनेको एउटा माध्यम मात्र हो, त्यो सम्पूर्णता होइन । पाठ्यक्रमका उद्देश्यहरू हासिल गर्न के कस्ता थप शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिन्छ त्यसले महत्वपूर्ण भूमिका खेल्छ । पाठ्यक्रमको सफल कार्यान्वयनले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बिन्दुमा पुग्छ । त्यसैले यस्तो विद्यालय छनोट गर्नु जरूरी हुन्छ जो पाठ्यपुस्तकमा मात्र भर पर्दैन । बरु त्यहाँ पाठ्यक्रम अनुसार बालबालिकाले बुझ्न सक्ने, सिक्न सक्ने शैलीमा पठनपाठन गराइन्छ ।
२. कति सुयोग्य शिक्षक ?
मानवविज्ञान ज्ञाता मार्गरेड मिड भन्छिन्, ‘के सोच्ने होइन । बरु कसरी सोच्ने भन्ने कुरा बालबालिकालाई सिकाउनु जरूरी छ ।’ खासमा यो कुरामा अहम् भूमिका शिक्षकको हुन्छ । शिक्षकले पढाउने, सिकाउने भन्दा पनि विद्यार्थीलाई सहजीकरण गरिदिने हो । कुनै पनि कुरालाई कसरी सोच्ने ? कसरी जान्ने ? कसरी थाहा पाउने ? यो कौशल शिक्षकले दिनसक्छ ।
किनभने अहिले विद्यार्थीमा जानकारीको कमि छैन । उनीहरूले विभिन्न माध्यमबाट धेरै कुरा थाहा पाएका छन् । सिक्ने स्रोत अनेक छन् । यस्तो स्थितिमा शिक्षकले विद्यार्थीलाई कुनै पनि कुराको जानकारी दिलाउने होइन । बरु कुन माध्यमबाट कसरी सही जानकारी लिने ? त्यो जीवनका लागि कति उपयोगी हुनसक्छ ? त्यसलाई व्यावहारिक जीवनमा कसरी प्रयोगमा ल्याउने ? यी कुरामा सहजीकरण गरिदिनुपर्छ ।
यस्तो सुयोग्य शिक्षक तयार गर्नमा विद्यालय व्यवस्थापनको खास दायित्व रहन्छ । शिक्षकलाई समयानुकूल प्रशिक्षित बनाउँदै लैजाने, शिक्षणका नयाँ र वैज्ञानिक विधिमा अभ्यस्त बनाउने काम विद्यालयको हो । यसरी विद्यालयले शिक्षकको क्षमता विकासमा के कस्तो कार्यक्रम तय गरेको छ ? अभिभावकले सोध्नु वा बुझ्नु जरूरी छ ।
३. सिकाइ विधि कस्तो छ ?
एपिजे अब्दुल कलाम भन्छन्— ‘एक विद्यार्थीको महत्वपूर्ण गुण यो हो कि उसले शिक्षकसँग प्रश्नहरू गरिरहोस् ।’
विद्यार्थीलाई पढाउनुको अर्थ यो होइन कि उनीहरूसँग हरेक कुराको जवाफ होस् । बरु, उनीहरूमा अनगिन्ती प्रश्न एवं उत्सुकता होस् । यस्तो प्रश्नले उनीहरूलाई नयाँ कुरा सिक्न, जान्न, बुझ्न प्रेरित गरिरहन्छ । विद्यार्थीमा यस किसिमको गुण विकास गर्न शिक्षण विधि जिम्मेवार हुन्छ ।
सिकाउनुको अर्थ जान्ने बनाउनु भन्दा बढी उत्सुक बनाउनु हो । किनभने हामीले आजका बालबालिकालाई सम्पूर्ण कुरा सिकाउन सम्भव हुँदैन । आज हामीसँग भएको स्रोत, साधन र जानकारी उनीहरूका लागि पर्याप्त हुँदैन । त्यसैले उनीहरूलाई हामीले जति कुरा सिकाए पनि त्यो सीमित हुनपुग्छ । बरु यसको साटो उनीहरूलाई जिज्ञासु बनाइराख्ने हो । हाम्रो सिकाइ विधि यही हुनुपर्छ कि, जसले विद्यार्थीमा प्रश्नहरू जगाइदियोस् । यस किसिमको पठन विधि भएको विद्यालय उपयुक्त हुनसक्छ ।
विद्यार्थीलाई सहभागितामा आधारित रहेर कुनै पनि कुरा सिकाउने, अन्तरक्रिया गराउने, प्रयोगात्मक अभ्यास गराउने खालको पठन विधि हुनुपर्छ । विद्यार्थीहरूले पनि आपसमा छलफल, सहकार्य गरेर सिक्ने खालको वातावरण बनाइएको हुनुपर्छ । यस्तो विद्यालयमा विद्यार्थीको बौद्धिक र व्यावहारिक क्षमता विकास राम्ररी हुन्छ ।
४. शैक्षणिक स्रोत र पूर्वाधार कति पुग्दो छ ?
नयाँ जानकारी, ज्ञान लिनका लागि पर्याप्त शैक्षणिक स्रोतको आवश्यकता हुन्छ । पुस्तकालय, विज्ञान प्रयोगशाला, खेल सामग्री आदि छ वा छैन ? अभिभावकले हेर्नुपर्छ । बालबालिकाले विद्यालयमा पुगेपछि किताब र कापीमा मात्र सीमित हुनुहुँदैन । उनीहरूले सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञानका लागि अरू थुप्र्रै स्रोत उपयोग गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा विद्यालयले के कस्ता शैक्षिक स्रोत उपलब्ध गराएको छ ? हेर्नुपर्छ ।
५. भौतिक पूर्वाधार विद्यार्थीमैत्री छ ?
विद्यालयको भवन कस्ता छन् ? कक्षाकोठाहरू कस्ता छन् ? खेलमैदान कस्ता छन् ? शौचालय कस्ता छन् ? यावत् कुराको अवलोकन गर्नुपर्ने हुन्छ ।
कक्षाकोठा फराकिलो र पठनमैत्री हुनुपर्छ । त्यस्तो कक्षाकोठामा पर्याप्त हावा आउजाउ गर्ने हुनुपर्छ । यस्तो कक्षाकोठा, जहाँ विद्यार्थीलाई सहज लाग्नुपर्छ । साथसाथै उनीहरूले त्यहाँ आउजाउ गर्न, अभ्यास गर्न पनि अनुकूल हुनुपर्छ ।
विद्यालयका अन्य भौतिक संरचना पनि विद्यार्थीमैत्री हुनुपर्छ । जस्तो भ¥याङ, बाटो, खेल मैदान, बगैंचा, शौचालय आदि कस्तो छ ? विद्यालयमा बालबालिकाले माटो स्पर्श गर्न पाउँछन् ? हरिया झारपातमा टेक्न पाउँछन् ? बोटबिरुवा एवं प्रकृतिको नजिक भएको महसुस गर्न पाउँछन् ? अभिभावकले हेर्नुपर्छ ।
६. अतिरिक्त गतिविधिलाई कति प्राथमिकता दिएका छन् ?
बालबालिकाको क्षमता एकनास हुँदैन । उनीहरूको सिक्ने, जान्ने क्षमता जसरी फरक हुन्छ उसैगरी उनीहरूको रुचि पनि फरक हुन्छ । हामीले बालबालिकालाई उनीहरूको रुचि पहिल्याउनुपर्छ । सो रुचिलाई उसको व्यावहारिक जीवनसँग जोडिदिनुपर्छ । ताकि, बालबालिकाले आफ्नो रुचि अनुरूपको क्षमता विकास गर्न सकोस् । जस्तो; उनीहरू नाच्न, गाउन, खेल्न, लेख्न, चित्र बनाउन रुचि राख्छन् भने त्यसमा हतोत्साही गर्ने होइन बरु सही मार्गदर्शन दिने हो ।
यसका लागि बालबालिकालाई यी सम्पूर्ण कुरामा अभ्यस्त गराउने सुविधा विद्यालयमा हुनुपर्छ । खेलकुद, नाचगान, वक्तृत्वकला आदि गतिविधिलाई विद्यालयले प्राथमिकतासाथ सञ्चालन गरेको हुनुपर्छ ।
७. विद्यालयको विगत कस्तो थियो ?
विद्यालयको इतिहास एवं विगत कस्तो थियो ? थाहा पाउनुपर्छ । त्यहाँ पढेर गएका विद्यार्थी अहिले कहाँ के गर्दैछन् ? उनीहरू कति सक्षम भए ? यसको मूल्यांकन गर्नुपर्छ । यावत् कुरा अभिभावकले पुराना विद्यार्थी, अभिभावकसँग सोधपुछ गरेर जानकारी लिन सक्छन् ।
त्यसो त विद्यालयले पनि आफ्ना विद्यार्थीको अवस्थाबारे अपडेट राख्नुपर्छ । आफूले पढाएका विद्यार्थी कहाँ छन्, के गर्दैछन् ? भन्ने कुराको विवरण राख्नुपर्छ । यसले उनीहरूलाई आफ्नो पठनशैली कति सफल थियो भनी स्वमूल्यांकन गर्न पनि सघाउँछ । विद्यालय आफ्नो विद्यार्थीको भविष्यप्रति कति सचेत र उत्तरदायी छ भनी थाहा हुन्छ ।
८. विद्यालयको नेतृत्व कस्तो छ ?
पठन विधि कस्तो हुने ? शैक्षिक पूर्वाधार कस्तो हुने ? शिक्षकहरू कस्ता हुने ? यावत् कुराको निर्धारण त्यसको नेतृत्वले गर्ने हो । त्यसर्थ कुनै पनि विद्यालय कस्तो छ भनी जान्नका लागि त्यहाँको नेतृत्व कसले हाँकिरहेको छ भनेर बुझ्नुपर्ने हुन्छ ।
विद्यालयको नेतृत्व गर्ने व्यक्ति वास्तवमै शिक्षाप्रति झुकाव राख्छन् ? उनले सामाजिक उत्तरदायित्वको क्षेत्रमा के कस्ता काम गरेका छन् ? जानकारी लिनुपर्छ । शिक्षण क्षेत्रमा उनको अनुभव र झुकाव कस्तो छ भनी बुझ्नुपर्छ ।
९. विद्यालयको पृथक् चिनारी के हो ?
यो एउटा महत्वपूर्ण शर्त हो, सही विद्यालय छनोटका लागि । जस्तो हामीले अक्षरा स्कुललाई ‘संस्कारयुक्त शिक्षा’ भनी पृथक् पहिचान दिलाएका छौं । हाम्रो ध्येय विद्यार्थीलाई केवल पढाउनु मात्र होइन, बरु सुशिक्षित र सुसंस्कृत बनाउनु हो । किनभने संस्कारले मान्छेलाई सही जीवन बाँच्ने दृष्टिकोण र मार्गदर्शन दिन्छ । त्यही कारण हामीले पढाइलाई जत्तिकै महत्व संस्कारलाई दिएका छौं ।
यहाँ बालबालिकाले आफ्नो संस्कारलाई कसरी सम्मान गर्ने, कसरी पालना गर्ने, कसरी जीवन र जगतसँग जोड्ने भन्ने सिक्छन् । यसरी हरेक विद्यालयको आफ्नो पृथक् अभ्यास र चिनारी हुन जरूरी छ ।
विद्यालय आफैंमा एउटा समाज हो
विद्यालय आफैंमा एउटा परिवार र समाज हो । त्यहाँ विद्यार्थीले लामो समयसम्म बिताएका हुन्छन् । जहाँ बालबालिका पढ्छन्, खेल्छन्, रमाउँछन्, सिक्छन्, साथीसंगी बनाउँछन् भने त्यो उनीहरूको एउटा समाज पनि हो ।
विद्यालयको वातावरणबाट विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् । साथीसंगी, शिक्षकबाट सिकिरहेका हुन्छन् । त्यसैले विद्यालयको माहोल प्रेरणादायी र सकारात्मक हुन जरूरी छ । शिक्षक र विद्यार्थीबीच मित्रवत् सम्बन्ध हुनुपर्छ । शिक्षकलाई देख्नासाथ विद्यार्थी डराउने, आत्तिने स्थिति आउनुहुन्न । एकआपसमा प्रेममय र सम्मानजनक सम्बन्ध कायम रहेको हुनुपर्छ ।
विद्यार्थीहरू कति सक्षम छन् ?
विद्यार्थीको लेखाजोखा उनीहरूले प्राप्त गर्ने परीक्षाको नतिजाबाट मात्र हुँदैन । बरु उनीहरू कति संस्कारयुक्त छन्, कति सक्षम छन्, कति सिपालु छन्, कति रचनात्मक छन्, कति विनयी छन् भन्ने कुराले उनीहरूको समग्र जीवनको मापन गर्छ । अर्थात् विद्यालयमा उनीहरूले आफ्नो कुनै विशिष्ट क्षमता विकास गरेको हुनुपर्छ ।
यसका लागि विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा के कस्तो योगदान दिएको छ ? खेल, कला, साहित्य, विज्ञान जस्ता अनेक विधामा उनीहरूलाई कसरी प्रेरित गरेको छ भनेर जान्नुपर्छ । कुनै पनि विद्यालयले विभिन्न माध्यमबाट विद्यार्थीको क्षमता, व्यक्तित्व, सीप विकासमा कति अनुकूलता दिएइको भनेर बुझ्नुपर्छ । यसरी विद्यार्थीको सर्वाङ्गीण विकासमा ठोस सहयोग गर्ने विद्यालय नै सही हुनसक्छ ।