काठमाडौँ । काठमाडौँको कलंकीबाट वैशाख १९ मा हराएकी २० वर्षीया स्नेहा वैशाख २६ मा पशुपतिनाथ मन्दिर परिसरमा फेला परिन् । पशुपतिनाथको आरती स्थलमा भेटिएकी उनी सात दिनसम्म कहाँ थिइन् ?
जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टिमले परिवारसँग समन्वय गरेर उनलाई फेला पारेको थियो ।
कलंकीमा मामाघरकी हजुरआमासँग बस्ने लामिछाने सगरमाथा इन्जिनियरिङ कलेजमा पढ्थिन् । क्याम्पस बिदा भएको थाहा पाएपछि उनी पशुपतिनाथ मन्दिरमा गइन् ।
त्यहीँ साँझ उनी गाडी चढेर चितवनस्थित देवघाटमा पुगिन् । एउटा भिडियो कुराकानीमा लामिछानेले आफू दुई दिन देवघाटमै बसेका बताएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेको अनुसार देवघाटबाट फर्केर उनी वसन्तपुरमा चिया बेच्नेको डेरामा बसेको बताए । उनले भने– ‘एकजना चिया बेच्नेको बानेश्वरमा डेरा रहेछ, त्यहाँ बसेर पशुपतिनाथ मन्दिरमा गएको खुलेको छ ।’
चितवनको कालिका नगरपालिका–६ जमुनापुर स्थायी घर भएकी लामिछानेलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । चितवन घरमा जान भनेर हिँडे पनि घर जान मन नलागेपछि देवघाट गएको लामिछानेले बताएकी छन् ।
वसन्तपुरमा चिया बेच्ने महिलाको डेरा बानेश्वरस्थित सुकुम्वासी बस्तीमा थियो । त्यहाँ एकदिन बसेर उनी पशुपतिनाथ मन्दिरमा गएर आरतीमा सहभागी भएकी हुन् । आरती स्थलमा उनलाई परिवार र प्रहरीको टोलीले फेला पारेको थियो ।
एकदिन कोटेश्वरमा पनि गएर बसेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । कहाँ बस्नुभएको थियो भन्ने अनुसन्धान अधिकृतहरूको प्रश्नमा उनले भनेकी छन्–‘बाटो मै बसेँ ।’ वसन्तपुरमा राति १ बजे एक्लै हिँडेको देखेपछि चिया बेच्ने महिलाले उनलाई डेरामा लगेर राखेकी थिइन् ।