पाल्पा । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।
उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।
दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् ।
१५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।