बुटवल । एकजना शिक्षकले विद्यालयको साइनबोर्ड तर्फ फर्किएर पाङ्गणमा ढोगेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा रहेको सरस्वती माविको प्राङ्गणमा घुँडा टेकेर भुईंलाई ढोगेको र विद्यालयको साइनबोर्डतर्फ हात हल्लाउँदै बिदा भएको फोटोमा देखिन्छ ।
उनी हुन् ३८ वर्ष अध्यापन गरेर अनिवार्य अवकाश पाएकी शिक्षक गंगा ज्ञवाली । ‘मलाई मेरो पहिचान दिने र ज्ञान बाँड्ने अवसर पाएको पवित्रस्थल सरस्वती मातालाई नमन गरेर बिदा भएँ,’ विद्यालयको प्राङ्गण ढोग्नुको कारणबारे गंगाले सुनाइन् ।
गंगाले २२ चैतमा अनिवार्य अवकास पाएकी थिइन् । २६ वैशाखमा विद्यालयले गंगा र अर्की शिक्षक द्रौपदी रानाको बिदाइ कार्यक्रम आयोजना गरेको थियो । सो विद्यालयमा गंगाले झण्डै चार दशक बिताएकी थिइन् । बिदाइ कार्यक्रमपछि घर फर्किनुअघि विद्यालय पाङ्गण ढोगेर बिदा भएकी थिइन् । विद्यालयबाट बिदाइ भएको एक हप्ता पछि मात्र उनले फोटाहरु फेसबुकमा सार्वजनिक गरेकी थिइन् ।
बिदाइ कार्यक्रमको दिन उनलाई केही बोल्न अनुरोध गरिएको थियो । शिक्षण अवधिका अनुभव सुनाउन मनभरि कुरा बोकेर गंगा पोडियममा पुगिन् तर बोल्नै सकिनन् । बिदाइ कार्यक्रममा सहभागी विद्यार्थीका सुकसुकाइले उनलाई भावुक बनाइसकेको थियो ।
मन दरिलो बनाएर बोल्छु भनेर अगाडि सरे पनि गला अवरुद्ध भएर बोल्नै नसकेको उनले स्मरण गरिन् । ‘अबदेखि विद्यालय आउनुपर्दैन भन्ने मनमा आएपछि मेरा विद्यार्थी, सहकर्मी, विद्यालय सबैको माया मुटुमा भरिएर आयो केही बोल्नै सकिनँ,’ गंगाले भनिन्, ‘अन्तिममा विद्यालयलाई नमन गरेर बिदा भएँ ।’ सुरुवाती दिनहरुमा सबै विषय पढाए पनि पछिल्लो समय उनले नेपाली विषय पढाइरहेकी थिइन् ।
तामनगरमा २०३५ सालमा सरस्वती प्राविको रुपमा यो विद्यालय स्थापना भएको थियो । टहरामा रहेको विद्यालयलाई बालबालिका बस्नलायक बनाउन शिक्षक र समुदायले मिहिनेत गरे । सोही अनुसार बालबालिका पनि बढ्दै गए । सरकारले पनि कक्षा बढाउने अनुमति दिँदै अहिले १२ कक्षासम्म भएको छ ।
तत्कालीन प्राथमिक तहको विद्यालयमा शिक्षक आवश्यक परेपछि स्थानीय अगुवाहरुले गंगालाई पढाउन प्रस्ताव गरेका थिए । निजी संस्थामा जागिर गरिरहेकी गंगा २०४२ सालमा शिक्षकको रुपमा प्रवेश गरेकी थिइन् ।
शिक्षण पेशाप्रति खासै चासो नभए पनि बालसुलभले आबाँधेर राखेको उनी बताउँछिन् । भन्छिन्, ‘त्यतिबेला मलाई यो पेशाप्रति चासो नै थिएन तर पढाउन थालेपछि बालबालिकासँगको आत्मियताले बाँधेर राख्यो ।’ शिक्षक भएपछि शिक्षाको महत्व गहिरोसँग बुझ्दै गएको र हर दिन शिक्षण पेशाप्रति मोह बढ्दै गएको उनी सुनाउँछिन् ।
आफ्नो मायालु व्यवहारका कारण विद्यार्थीहरु आफूसँग नजिकिएको अनुमान गर्छिन् उनी । ‘बालबालिकालाई मायाले भन्यो भने सिक्छन्, कोसिस गर्छन् भनेर सक्दो मायालु व्यवहार गरेँ,’ गंगा भन्छिन्, ‘सायद मेरो त्यही व्यवहारका कारण बिदाइको दिन बालबालिकाहरु पनि भावुक भएका थिए ।’
विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद न्यौपाने, गंगा विद्यार्थीको भावना बुझेर व्यवहार गर्ने शिक्षक भएकैले बालबालिकाबीच प्रिय रहेको बताउँछन् । प्रधानाध्यापक न्यौपाने भन्छन्, ‘उहाँ विद्यार्थीसँग चाँडो भिज्नसक्ने र उनीहरुको भावना बुझेर व्यवहार गर्ने स्वभावको हुनुभएकोले बालबालिकाहरु उहाँसँग नजिक हुन्थे ।’
गंगाको अनिवार्य अवकास हुन दुई वर्ष बाँकी छँदै ग्रामीण क्षेत्रका कतिपय शिक्षकहरुले गंगालाई स्वेच्छिक अवकास लिन लगाएर त्यो स्थानमा आफू सरुवा भएर आउन खोजेका थिए । ठाउँ खाली गरिदिनका लागि प्रलोभन समेत देखाए ।
बालबालिकाको मायाले स्वेच्छिक अवकास नलिएको गंगा बताउँछिन् । उनी भन्छिन्, ‘कतिपयले त मलाई म एक वर्षको तलब तपाईंलाई दिन्छु, अवकास लिएर ठाउँ खाली गर्दिनुस् समेत भने तर मलाई भने विद्यालय छोड्नु नै थिएन, अहिले त बाध्य भएर हो ।’
विद्यालयका बालबालिका र शिक्षकहरुसँग छुट्टिनुपर्दा मन भारी भएकाले बिदाइ भएको करिब एक हप्तापछि मात्रै फोटाहरु फेसबुकमा राख्न सकेको उनले बताइन् । ‘कति दिन भावुक भएर बस्नु भनेर फेसबुकमा फोटो राखें,’ उनले सुनाइन् । गंगाले शिक्षणकालमा जोडिएका सबैलाई धन्यवाद दिँदै फोटाहरु राखेकी छिन् ।
गंगाले आफ्ना विद्यार्थीलाई कखरासँगै असल ज्ञान दिने प्रयास गरेको जिकिर गर्छिन् । विद्यालयलाई आवश्यक परे निःशुल्क सेवा दिन तयार रहेको उनी बताउँछिन् । ‘एउटा शिक्षकले निभाउनुपर्ने कर्तव्य इमान्दारीपूर्वक निभाएँ भन्ने लाग्छ,’ गंगाले भनिन्, ‘यदि विद्यालयलाई मेरो आवश्यक परे विनापारिश्रमिक सेवा गर्न प्रतिबद्ध छु ।’
-सबै फोटाहरु गंगा ज्ञवालीको फेसबुकबाट