धरान । मेयर हर्क साम्पाङ ‘कोकाहा खोला-२’ योजना अन्तर्गत शनिबार बिहान श्रमदान गर्ने टोली सहित कोकोहा खोला पुगेका थिए। धरान-२० बासिन्दासँग कुनै छलफल नगरी पाइप बिछ्याउन थालेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए।
स्थानीय बासिन्दा र साम्पाङको टोलीबीच केहीबेर भनाभन भएको थियो। झडपको स्थित आएपछि प्रहरी परिचालन गरिएको थियो।
प्रहरी नायव उपरीक्षक मानबहादुर राईको नेतृत्वमा पुगेको टोली स्थिति नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीसँग सशस्त्र प्रहरी नगर प्रहरीको टोली परिचालन गरेर स्थिति साम्य पारिएको डीएसपी राईले बताए। तथापि, दुवै पक्षबीच धकेलाधकेल हुँदा एक जना घाइते भएका छन्।
यसअघि पनि मेयर साम्पाङले कोकाहा खोलाबाट पानी ल्याएका थिए। फेरि दोस्रो पटक पानी ल्याउन खोजेपछि बिष्णुपादुकास्थित ज्यामिरेमा स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका हुन्।धरान-२० का बासिन्दाले पानीको अभाव खेपिरहेको वेला समन्वय नै नगरेर पानी लग्न खोजिएपछि विवाद भएको वडाध्यक्ष पदम लिम्बूले बताए। जनप्रतिनिधि र स्थानीय बासिन्दासँग समन्वय गर्नुपर्नेमा त्यस्तो नभएको उनको भनाइ थियो।
स्थानीय बासिन्दाले मेयर साम्पाङको टोलीलाई पाइप बिछ्याउन नदिएर धपाउन खोजेको थियो। वडाध्यक्ष लिम्बू र पूर्व वडाध्यक्ष मणिराम राई सहितले स्थानीय बासिन्दालाई शान्त पारेका थिए।
त्यसपछि झण्डै एक घण्टा भएको छलफलमा मेयर साम्पाङले आफ्नो गल्ती भएको स्वीकार्दै स्थानीय बासिन्दाको माग पूरा गर्ने सहमति गरेका छन्। पानीको माग लिएर नगरपालिका कार्याल्य पुगेका महिलाको भिडिओ र फोटो चरित्रहत्या गर्ने उद्देश्यले भाइरल बनाइएको मेयर साम्पाङले माफी माग्नुपर्ने स्थानीयको माग थियो।
स्थानीयको मागअनुसार, मेयर साम्पाङले सहमति गरेका छन्। अब उप्रान्त सामाजिक सञ्जालमा स्थानीय बासिन्दा विरुद्ध नबोल्ने साम्पाङले प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, स्थानीय बासिन्दाका लागि स्वारा क्षेत्रमा पानी व्यवस्थापन गर्न कोकाहा खोलाबाट पम्पमार्फत लिफ्ट गरेर रिजर्भ ट्याङ्कसम्म पानी पुर्याउने साम्पाङले लिखित सहमति गरेका छन्।
यसैगरी, आगामी आर्थिक वर्षमा धरान-२० लाई प्राथमिकतामा राखेर पाँच करोड बजेट विनियोजनका लागि पहल गर्ने पनि मेयर साम्पाङले सहमति जनाएका छन्। उनले स्थानीय बासिन्दालाई सम्बोधन गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसपछि मात्रै स्थानीय बासिन्द्याले मेयर साम्पाङको टोलीलाई खानेपानीको पाइप बिछ्याउन दिएका थिए। कोकाहा खोला-२ योजना अन्तर्गत धरान बजार क्षेमा पानी ल्याउन पाइप बिछ्याउन थालिएको छ।