गाउँमा बूढापाकाले निगालाको चोयाबाट डोको, डालो, पाल्तो, छाप्री बुन्ने गरेको देखे पनि १५ वर्षीय निराज विकलाई भने यसमा चासै थिएन। तर अचेल प्रत्येक शुक्रबार विद्यालय जाँदा उनी किताबको झोलासँगै एक भारी निगालो पनि बोक्छन्।
बाजुरा, बडीमालिका नगरपालिका-३, रजालीका निराज गाउँकै चोयाकोट माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छन्। तीन महीनायता हरेक शुक्रबार यस विद्यालयमा पढाइका अलावा निगालाको चोयाबाट विभिन्न सामग्री बनाउन सिकाइँदै छ। “मैले घरमा कहिले सिकेको थिइनँ, पहिलो पटक विद्यालयमा चोयाको डोको बुनेको हुँ,” निराजले भने।
निराज अहिले डोको र बाबियाको कुचो बनाउन सिपालु भइसकेका छन्। निगालाको चोया मिलाएर काट्न भने उनलाई अझै आउँदैन। “चोया सरहरूले काट्नुहुन्छ, हामी त्यसलाई बुन्छौं,” उनले भने।
निराज मात्र होइन, उनका सबैजसो सहपाठीले डोको र बाबियाको कुचो बनाउन जानिसकेका छन्। बिस्तारै डालो, पाल्तो, कुरू, छाप्री लगायत अन्य सामग्री बनाउन सिक्ने उनी बताउँछन्।
चोयाकोट माविका प्रधानाध्यापक गोरख थापा विद्यालयको नाममै ‘चोया’ शब्द भएकाले चोयाको सामग्री बनाउन थालिएको बताउँछन्। “बाइसे/चौबिसे राज्यका वेला यहाँ (चोयाकोटमा) राजाको दरबार थियो। यस ठाउँमा धेरै निगालो पाइन्थ्यो। अहिले विद्यालय भएको ठाउँमा त्यति वेला चोयाका विभिन्न सामग्री बनाइने गरिन्थ्यो,” प्रधानाध्यापक थापाले भने, “जसको नामबाटै यो विद्यालयको नाम चोयाकोट रहन गयो। विद्यालयको नाम र त्योसँग सम्बन्धित चोयाका सामग्री बनाउन थालेका छौं।”
गाउँमै बन्ने रैथाने सामग्री लोप हुँदै गएकाले किताबी ज्ञानसँगै सीप पुस्तान्तरणका लागि विद्यालयले यो अभियान शुरू गरेको उनी बताउँछन्।
कार्यक्रमको अवधारणा
गत वर्ष फागुनमा सुर्खेतबाट शिक्षक नारायण सिग्देल बडीमालिका नगरपालिकाका शिक्षकलाई तालीम दिन आएका थिए। सिग्देलले नै आफ्नो विद्यालयमा विद्यार्थीलाई रैथाने सामग्री बनाउन सिकाउने गरेको बताएपछि प्रधानाध्यापक थापा प्रभावित भएका थिए।
“त्यो वेला नै मैले सोचिसकेको थिएँ, मेरो विद्यालयमा पनि म रैथाने सामग्री बनाउन सिकाउँछु,” थापाले भने।
थापाको अनुभवमा यस्ता गतिविधिले विद्यार्थीलाई रैथाने सीप सिकाउँदै संरक्षणको महत्त्वबोध गराउँछ। अहिले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यस्तो तालीम दिइएको छ। विद्यार्थीले ५० वटा डोका बुनिसकेका छन्। केही डोका विद्यालयमै प्लास्टिकको विकल्पमा ‘डस्टबिन’ का रूपमा प्रयोग गरिएको छ।
थापाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर मायाको चिनोस्वरूप केही डोका उपहार पनि दिएका छन्। “हामीले सबै पालिकालाई मायाको चिनोका रूपमा एक एक डोका दिएका छौं,” थापा भन्छन्, “सबै पालिकाले डोकालाई डस्टबिनका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।”
हाल बडीमालिका नगरपालिका कार्यालयले पनि २०० वटा डोका माग गरेको छ। नगरपालिकाको माग बमोजिम डोका बुन्न शुरू पनि गरिएको छ। यसबाट भएको आम्दानी समावेश गरी एउटा कोष बनाउने विद्यालयको योजना छ। आम्दानीको २५ प्रतिशत कोषमै राखिनेछ भने बाँकी पैसाले कच्चा पदार्थको खर्च तिरेर डोको बुन्ने विद्यार्थीलाई पारिश्रमिक उपलब्ध गराइनेछ।
रजालीमा तरकारी अत्यधिक फल्ने भएकाले यसलाई ‘तरकारीको गाउँ’ पनि भनिन्छ। विद्यालय परिसरमै पनि तरकारी खेती गरिएको छ, ढकमक्क फूल फुलेका छन्। विद्यालयमा खाजाका रूपमा त्यहीं फलेको तरकारी प्रयोग गर्ने गरिएको प्रधानाध्यापक थापा बताउँछन्।
यस्तै, प्रत्येक विद्यार्थीले विद्यालय परिसरमै पाँच-पाँच वटा बिरुवा रोप्न पनि थालेका छन्। आफूले रोपेको बिरुवाको जिम्मा विद्यार्थी स्वयंले लिन्छन्। प्रधानाध्यापक थापा विद्यार्थीलाई रैथाने ज्ञान र सीप पनि सिकाउने गरिएको बताउँछन्।
धनु विश्वकर्मा द्वारा लिखित हिमाल खबरबाट साभार गरिएको ।