बागलुङ । बागलुङको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो ।
बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ ।
पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामार्फत पुग्न सकिने रिग तालमा हालै सडक सञ्जाल विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र पर्यटकीय हिसाबले मनमोहक र रमणीय भए पनि यसअघि संरक्षण नहुँदा ओझेलमा परेको उनको भनाइ छ ।
पालिकाको सानो स्रोतबाट गत वर्षदेखि पूर्वाधारमा लगानी गरी पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न थालिएको अध्यक्ष मगरले बताए । गत आवमा आठ लाख रुपैयाँ खर्च गरेर तालसम्म पुग्ने सडक विस्तार गरिएको थियो भने यस वर्ष ताल र रिग बराहथानको संरक्षण गरिएको उनले जानकारी दिए ।
‘गोठथरीका रुपमा रहेको स्थानमा ताल छ, यो निकै पनि आकर्षक छ । मध्यपहाडी लोकमार्ग विस्तारपछि तालको प्रचारप्रसार हुन थालेको थियो,’ अध्यक्ष मगरले भने, ‘पालिकाको सीमित स्रोतबाट सडक विस्तारलगायत पूर्वाधार विकासमा लागेका छौं । यस क्षेत्रको पर्यटन प्रवर्द्धन भएमा नागरिकको आयस्तारमा पनि वृद्धि हुने अपेक्षा गरेका छौं ।’
पूर्वाधार विकासमा गत वर्ष आठ लाख रुपैयाँ र चालु आवमा पाँच लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए ।
‘रिगमा पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ठूलो लगानी थप पर्यटकीय पूर्वाधार निर्माण गर्नु आवश्यक छ,’ उनले भने, ‘तालसँगै नजिकै रहेको तालबराहलाई संरक्षण गरेका छौं । सडक, खानेपानी, शौचालय, सत्तललगायत पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर विकास गर्ने योजना छ ।’
समुन्द्री सतहबाट करिब तीन हजार दुई सय मिटर उचाइमा रहेको तालको लम्बाइ एक सय, चौडाइ ६० र गहिराइ करिब १२ मिटर रहेको स्थानीय बताउँछन् । पछिल्लो समय पहाडबाट बगेर आउने भल जम्मा हुन थालेपछि ताल पुरिने सम्भावना बढेसँगै पालिकाले पर्खाल निर्माण गरेको छ ।
रोल्पा, रुकुम, प्यूठान, पर्वत र बागलुङको विभिन्न स्थानको अवलोकन गर्न सकिने र भेँडाका बथान हेर्न पर्यटक यहाँ आउने गरेको स्थानीय लालसिंह बुढामगरले बताए ।
‘पहिला गाईभैँसी, घोडा र भेँडालाई पानी खुवाउन तालको प्रयोग गरिन्थ्यो । हिमपात भएको समयमा ताल निकै मनमोहक देखिन्छ,’ उनले भने ।
सडक सञ्जाल विस्तार भएसँगै आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको भन्दै यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नु जरुरी रहेको बुढामगरको भनाइ छ । बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरेका भन्दै रोल्पा र रुकुमबाट केही कम आउने उनले बताए ।
‘अहिले ताल हेर्न आउने पर्यटक बढेकाले पालिकाले संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘वरपरको हरियाली, भेँडाको बथान हेर्न तथा बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा आएका पर्यटकसमेत यहाँ आउन थालेका छन् । यहाँ ओत लाग्ने स्थान बनाउन आवश्यक छ ।’
पछिल्लो समय गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान गरी र विकास गर्न थालको छ । पालिकाले संरक्षण र प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो ।
‘तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो । मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको’ भन्ने बुझाउछ,’ अध्यक्ष मगरले भने ।