झापाको बिएण्डसी सहित १२ वटा अस्पतालमा सुरु हुँदै स्वास्थ्य बीमा कार्यक्रम

बिर्तामोड । स्वास्थ्य बीमा बोर्डले नियमित भुक्तानी नगरेको भन्दै बीमा कार्यक्रमबाट बाहिरिएको झापाको बिएण्डसीसहित १० वटा मेडिकल कलेजले बीमा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।बीमा कार्यक्रमबाट बाहिरिएसँगै अस्पतालहरूमा बिरामीको सङ्ख्या ह्वात्तै घटेको थियो।

एकातिर बिरामीको सङ्ख्या घट्नु र अर्कोतिर सरकारले सह भुक्तानी (को पेमेन्ट) मार्फत सेवाग्राहीले २० प्रतिशत रकम भुक्तानी गर्नु पर्ने व्यवस्था लागू गरेपछि पुन: बीमा कार्यक्रम सञ्चालन गर्न उनीहरूले लबिङ गरेका थिए ।

अस्पताल सञ्चालकहरूले बीमा कार्यक्रम सञ्चालन गर्न लबिङ गरेसँगै स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई सेवा सूचीकृत गरेको छ ।

बीमा कार्यक्रम सञ्चालन गर्न पाउने थप मेडिकल कलेजहरुमा झापाको बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल, काठमाण्डौ मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगर, बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रुपन्देही, नेपालगञ्ज मेडिकल कलेज बाँके र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

यसैगरी दुईवटा आँखा अस्पताल दिव्यज्योति आइ केयर झापा र दृष्टि आइ अस्पताल पोखरा छन् । अहिले बीमा कार्यक्रम पाउने अधिकांश मेडिकल कलेज बीचमा आफैं बाहिरिएका थिए ।

आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए।

बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा सह भुक्तानी (को पेमेन्ट) लागु गर्ने कार्यविधि, २०८० जारी गरी २०८० माघ १ गतेदेखि सेवाग्राहीले १० प्रतिशत रकम आफै भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

उक्त कार्यविधि संशोधन गरी सरकारी बाहेकका अस्पतालहरूमा उपचार गराउँदा बिरामीले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गएको वैशाख १ गतेदेखि कार्यान्वयनमा आएको छ।

हाल झापाको बिर्तामोडस्थित कन्काई अस्पताल र भद्रपुर स्थित ओमसाई पाथिभरा अस्पतालमा बीमा कार्यक्रम सञ्चालनमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति