बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् ।
चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती महिला सुरक्षाकर्मीले एयरपोर्टको सुरक्षा घेराभित्रै कंगनालाई थप्पड हानेको देखिन्छ । त्यसपछि कंगनालाई सुरक्षा दिएर लगिएको छ ।
स्रोतका अनुसार कंगना शहीद भगत सिंह इन्टरनेशनल एयरपोर्टबाट चण्डीगढबाट दिल्लीको लागि चेक इन गरिरहेकी थिइन्, त्यहाँ सीआईएसएफमा तैनाथ महिला सुरक्षाकर्मीले उनलाई सोधिन्- ‘तपाईंले बिजेपीबाट जित्नुभएको छ । तपाईको पार्टीले किन किसानका लागि केही गर्दैन ?’
कंगनाले हालैका दिनमा किसान आन्दोलनबारे दिएका अभिव्यक्तिलाई लिएर ती महिला सुरक्षाकर्मी आक्रोशित भएको जनाइएको छ । यो घटनाबारे कंगनाले भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहेको बताएकी छन् ।
‘मलाई मिडिया र मेरा शुभचिन्तकबाट धेरै कल आइरहेको छ । सबैभन्दा पहिले, म तपाईलाई भन्न चाहन्छु कि म सुरक्षित छु । आज चण्डीगढ विमानस्थलमा दुर्घटना भएको हो । सुरक्षा जाँचको क्रममा म निस्किने बित्तिकै अर्को कोठाबाट एक महिला सुरक्षा गार्ड बाहिर निस्किइन् र छेउबाट आएर मेरो मुखमा हानेर गाली गर्न थालिन् ।’
उनले अघि भनिन्- ‘मैले किन यस्तो गरिरहेकी भनी सोध्दा उनले आफू किसान आन्दोलनको समर्थक भएको बताइन् । म सुरक्षित छु र मेरो प्रश्न यो हो कि हामी पञ्जाबमा बढ्दै गएको आतंकवाद र अतिवादसँग कसरी लड्नेछौं ।’ थप्पड हानेको घटनापछि सीआईएसएफ महिला सिपाहीको भिडियो भाइरल भइरहेको छ ।
घटनापछि कंगनाले रनौतले यस विषयमा प्रहरीमा उजुरी गरेपछि कार्वाही गर्दै ती महिला सिपाही कुलविन्दर कौरलाई निलम्बन गरिएको जनाइएको छ ।
लोकसभा चुनावमा भाजपाकी उम्मेदवार तथा बलिउड क्वीन रनौत हिमाचल प्रदेशको मंडी सिटमा विजयी भएकी हुन् ।