छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर : मोरङको कानेपोखरीमा दुर्घटनामा परेर र खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा कारले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ च ३३६६ नम्बरको कारले बिहीबार राति ९: ४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

गम्भीर घाइते अवस्थाका पुरुषलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्कले मृत घोषित गरेका हुन् ।

मृतक अन्दाजी ४५/५० वर्षीय पुरुषको पहिचान खुलेको छैन । शवलाई सोही अस्पतालमा राखेर मृतकको सनाखतको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार मृतकको साथमा पहिचान खुल्ने कुनै कागजात फेला परेन भने कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् ।

कार र चालक झापाको मेचीनगर नगरपालिका–१० का अन्दाजी ३० वर्षीय विजयकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कानेपोखरी–७ स्थित सुकुना खोलामा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । कानेपोखरी–७ का ५५ वर्षीय देवीबहादुर शिवकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाको पुलमुनि पानीमा डुबिरहेको अवस्थामा बिहीबार साँझ ६:३० बजेतिर शिवकोटीलाई फेला पारिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार घाइते अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

उपचारका क्रममा साँझ ७ :४० बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । शवलाई सोही अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति