झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानून बनाउने काम सहज नभएको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले कानून बनाउने काम गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताए । प्रदेश सभा सचिवालयले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उहाँले कानून निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताए।
कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानून संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उहाँले संविधान अध्यन गरेर आवश्यक कानुन बनाउन जोड दिए ।
मुख्यमन्त्री कार्कीले कानून पढेर मात्रै कानून बनाउन नजानिने भन्दै कानून बनाउने काम सबै भन्दा कठिन भएको बताए ।
कानून निर्माणको लागि संघीयता आएको पछिल्लो ६ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी लागू गर्न उनले आग्रह गरे ।
सुशासनका लागि पनि कानून अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनु पर्ने कुरामा जोड दिए ।
कानून बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गरे।
फरक प्रसंगमा उनले धार्मिक पर्यटनमा जोड दिनु पर्ने बताए। उनले लुम्बिनी बुद्धिष्टहरुको लागि पवित्र भूमि भएको र त्यहाँ छिमेकीमुुलुक चीनबाट मात्रै करोडौँ पर्यटक तान्न सकिने बताए । यस्तै पशुपतिनाथ र पाथिभारा दर्शनकालागि छिमेकीमुलुक भारतबाट करोड करोड पर्यटक ल्याउन सकिने उनको भनाइ छ ।
पर्यटकहरुलाई सहज हुने गरीको राज्यको नीति हुन आवश्यक रहेकोमा उहाँले जोड दिए ।
कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानून निर्माणका लागि सहयोग गर्न तयार रहेको बताए ।
कोशी प्रदेश सभामुख अमर व.विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कोशी प्रदेश उपसभामुख सृजना दनुवार, प्रदेश सांसद तथा स्थानीयतहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।