सुरुङ्गा । झापाको कनकाई नगरपालिका–६ का वडाध्यक्ष दीर्घवहादुर थापाको निधन भएको छ । थापाको गए राति १ः५० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विगत लामो समयदेखि अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि थापा जेठा छोरा रुद्रबहादुर थापा र बुहारीसहित श्रीमतिको रेखदेखमा रहँदै आएका थिए । थापाको आज कनकाई घाटमा अन्त्यष्टि गरिने जनाइएको छ ।
थापाका जेठा छोरा रुद्रबहादुर थापा सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक साथै चम्पापुर माविका सहायक प्रधानाध्यापक समेत हुन् भने कान्छा छोरा विशाल थापा समेत शिक्षण पेशामा आवद्ध छन् । थापाका दुईजना श्रीमति, दुई छोरा, एक बुहारी र एक छोरी र नातीनातिना छन् ।
आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकासमा धेरै चिन्ता भएको बताउने वडाअध्यक्ष थापा गएको स्थानीय तहको निर्वाचनबाट कनकाई–६ को वडाअध्यक्षका रुपमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष थापाको निधनले वडासहित नगरको ठूलो क्षति भएको भन्दै कनकाई नगरले थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगर र नगरका मातहतका कार्यालयहरुमा आज शोक बिदा दिएको छ ।