बुधबारे । बुद्धशान्ति प्रेस क्लबले नयाँ सदस्यहरुलाई स्वागत तथा आधारभूत पत्रकारिता तालिम र असार १५ का अवसरमा दहि चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ ।
प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं (१ का वडा अध्यक्ष एवम् प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुराहरु देखि लिएर प्रविधिमा पत्रकारले कसरी फड्को मार्न सकिन्छ ?, भन्ने विषयमा प्रशिक्षण गराएका थिए । यसका साथै पत्रकारिता आचारसंहिता, खोज पत्रकारिताका बारेमा समेत प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा क्लबका सल्लाहकार गंगाराम गड्तौला, टंक काफ्ले बिकल्प, भुवन तामाङ, संस्थापक सचिव दिपेन लावती लगायतको आतिथ्यता रहेको थियो ।
नयाँ सदस्यलाई स्वागत गर्दै प्रमुख अतिथि वाग्लेले पत्रकारिता क्षेत्रमा आउने सदस्यहरुलाई शुभकामना दिएका थिए । उनले खोज पत्रकारीतामा जोड दिन आग्रह समेत गरेका छन् । उनले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिबृद्धि तथा तालिम सञ्चालनका लागि आँफूले सक्दो सहयोग गर्ने बताए ।
संस्थाका सचिव रोसन भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नाराय अर्यालले स्वागत गरेका थिए । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो ।