फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो ।
टी-२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जित्यो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।
शनिबार ब्रिजटाउनमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकालाई जितका निम्ति अन्तिम दुई ओभरमा २० रन आवश्यक थियो । १९औँ ओभर बलिङका लागि भारतीय कप्तान रोहित शर्माले अर्शदीप सिंहलाई जिम्मेवारी सुम्पिए । अर्शदीपले सुरुआती दुई बल डट फ्याँके । तेस्रो बलमा दक्षिण अफ्रिकाका केशव महारेजले एक रन लिए । चौथो बलमा स्ट्राइकमा रहेका डेविड मिलरले दुई रन लिए । पाँचौँ बलमा मिलरले पुनः एक रन लिए । अर्शदीपले अन्तिम बल डट फ्याँकेपछि दक्षिण अफ्रिकालाई जितका निम्ति अन्तिम ओभरमा १६ रन चाहिएको थियो ।
भारतबाट अन्तिम ओभर बलिङका निम्ति हार्दिक पाण्ड्याले जिम्मेवारी पाएका थिए । हार्दिकको पहिलो बलमा मिलरले छक्काको प्रयास गरे पनि बाउन्ड्री लाइनमा सूर्यकुमार यादवबाट क्याच आउट भए । हार्दिकको दोस्रो बलमा क्रिजमा आएका कगिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम चार बलमा १२ रन आवश्यक थियो । तेस्रो बलमा रबाडाले एक रन लिए ।
चौथो बलमा पनि महारेजले एक रन लिँदा दक्षिण अफ्रिकालाई दुई बलमा १० रन आवश्यक थियो । पाँचौँ बल हार्दिकले वाइड फालेका थिए । पुनः पाँचौँ बलमा हार्दिकले रबाडालाई सूर्यबाट क्याच गराएपछि दक्षिण अफ्रिकाको सम्भावना सकियो । अन्तिम बलमा एनरिक नोर्ट्जेले एक रन मात्र लिँदा भारत सात रनको जितसहित विश्व च्याम्पियन बनेको हो ।
दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । ओपनर क्विन्टन डी ककले ३९ रन जोडे । ट्रिस्टान स्टब्सले ३१ र डेविड मिलरले २१ बनाए ।
क्लासेन र मिलरले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ४५ रनको साझेदारी गर्दा दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो । तर, १७औँ ओभरको पहिलो बलमा हार्दिकले क्लासेनलाई विकेटकिपर ऋषव पन्तबाट क्याच गराएपछि खेलमा भारत हाबी बन्यो ।
भारतलाई विश्व च्याम्पियन बनाउन हार्दिकले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए । अक्षर पटेलको नाममा एक विकेट रह्यो ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।
भारतबाट ओपनर विराट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४–३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।
कोहलीले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।
दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई/दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।