बिर्तामोड । जङगली हात्तीको समस्याबाट आक्रान्त बिर्तामोड नगरपालिका वडा न ६, ७ र ८ मा हात्तीकाे समस्या समाधानका लागि सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण हुने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा पुर्व–पश्चिम राजमार्गको कालिझोडा खण्डदेखि देवनीया पुलसम्म ईलेक्ट्रिक सोलार फेन्सिङ वाल निर्माण हुन लागेको हो ।
ती वडासँगै जोडिएको चारआली जङगलमा हात्तीको बास स्थान छ । जङ्गलबाट निस्किने हात्तीले स्थानीयको अन्नबाली खानुका साथै घर भत्काएर क्षति पुर्याउदै आएको छ । हात्तीको समस्याबाट स्थानीय पीडित हुने क्रम बढेपछि सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण गर्न लागिएको हो ।
सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले १ करोड ३२ लाख ३६ हजार ५१२ रुपैंयाँ लगानी गरेको छ । फुङफुङे सैलेश्वरी निर्माण सेवाले निर्माण गरिरहेको सो आयोजना आगामी कार्तिक मसान्तमा सम्पन्न हुने बताइएको छ ।
बिर्तामोड ६ बाट सुरु भएको निर्माण कार्य बिर्तामोड ८ मा सम्पन्न हुने छ । लगभग ९ किलोमिटरभरी सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माण हुने बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँले जानकारी दिएकी छन् । प्रसाईँले बिहीबार एक समारोहबिच सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको सुभारम्भ गरेकी छन् । उनले बिर्तामोड नगरपालिकाको वडा न ६, ७ र ८ मा हात्तीको समस्या अत्याधिक रहेको भन्दै त्यो समस्या न्युनिकरण गर्न यो योजना अघि सारेको बताईन् ।
शिलान्यास कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रिय प्रकृति संरक्षण कोषका बिरेन्द्र गौतम, हरियाली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष जगतबहादुर राई, सुन्दर निचाझोडा सामुदायिक बन समुहका अध्यक्ष बद्री प्याकुरेल, बिर्तामोड ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङवा, ७ का कृष्णप्रसाद खरेल, ३ का मदन बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।