कोशीमा जनताको गुनासो सुन्न ‘हेल्लो सिएम’

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ ।

EPIC EPIC

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन्।

गुनासो व्यवस्थापनको लागि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताए । उनले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताए ।

सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिएका छन्।

जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि शासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्नै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो ।

कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति