बिर्तामोड । गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्याएको छ।
चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ।चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो।
कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक टंक कोइरालाले जानकारी दिए।
रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै चालु गराएको उनले बताए।हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ। चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए।
उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलावारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए। मेचीनगरको धाईजन, धुलाबारी, काँकडभिट्टामा पनि विद्युत अवरुद्ध रहेको जनाइएको छ।
हावाहुरीले आफूहरुको क्षेत्रमा निकै क्षति पुर्याएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए। उनले बिजुलीको पोल र तारसंगै वडाबासीहरुको घरहरूमा पनि क्षति पुगेको जानकारी दिए। घरहरूमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।
हावाहुरीले विभिन्न ठाउँहरुमा रुख ढालेर क्षति गरेको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले मानवीय क्षति नभएको बताए।