झापा जिल्लाका १५ वटा पालिका मध्ये १२ वटाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् ।
पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् ।
दमक, बिर्तामोड र अर्जुनधारामा नगर क्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् ।
बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए ।
कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।
भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने बिर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठुला अस्पताल छन् ।