तनहुँ : तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।
शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो।
दुर्घटनामा १५ जनालाई अचेत र १४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अहिलेसम्म १८ जनालाई दुर्घटनास्थलबाट सुरक्षित स्थानमा ल्याइएको र उद्धार जारी रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमले एकजना सामान्य घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र अर्का एकजना बच्चालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको बताए। उनले उद्धार कार्य जारी रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन नसकेको बताए।
घाइतेहरूको उद्धारका लागि काठमाडौंबाट मेडिकल टिम लिएर सेनाको हेलिकोप्टर बस दुर्घटनास्थल गएको थियो। नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,गोताखोर र स्थानीयहरू उद्धारमा खटिएका छन्।
दुर्घटनास्थल भिरालो र अप्ठ्यारो ठाउँ भएकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।