बनियानी। झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।
आज रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जीत लिम्बूले बताए । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उनले भने, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको छ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनको भनाइ छ ।
हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकेको उनले बताए । “हामीले खनिएको बाटो पुर्न खोजिरहेका छौं”, उनले भने, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटरको दूरीमा रहेको दशगजा बाटा खनिएको बताए।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक बाटो बनाउने कार्य भइरहेकाले विवाद भएको बताए । उनले हाल काम बन्द भएको र छलफल भइरहेको बताए ।
यसअघि पनि सो क्षेत्रमा बाटो बनाउँदा विवाद भएको र विवादपछि बाटो निर्माण कार्य बन्द गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले जनाएको छ । सोही बाटो भारतीय पक्षले मर्मत गर्न खोजेपछि नेपाली पक्षबाट अवरोध भएको सशस्त्र प्रहरीले जनाएको छ । विवाद समाधानका लागि पहल भइरहेको जनाइएको छ ।