साउदी जेलमा ६१५ नेपाली, १ महिनामै १६ जनाको मृत्यु

वैदेशिक रोजगारीका लागि साउदी अरब आकर्षक मानिन्छ । तर, यहाँको कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ६ सय १५ जना नेपाली जेल परेका छन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका हुन् । साउदीमा रक्सी सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय हो ।

साउदीस्थित नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार ६ सय १५ जना नेपाली विभिन्न जेलमा सजाय भोगिरहेका छन् ।

उनका अनुसार ३ सय ८८ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा जेल परेका हुन । यस्तै, १ सय २२ जना लागु‍औषध ओसारपसार र ५३ जना चोरी मुद्दामा जेल परेका हुन् ।

यस्तै, उच्छृंखल भिडियो बनाउने, महिलालाई जिस्काउने तथा अन्य कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा ५२ जना जेल परेका हुन् ।

साउदीमा हाल ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या बर्सेनि बढ्दो छ । तर, पछिल्लो समय कार्यरतसम्बन्धी कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ ।

श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका छन् । दूतावासले साउदीमा कार्यरत कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १५ हजार बढी रहेको अनुमान गरेको छ ।

धेरै कमाउने प्रलोभनले जेलमा

डोल्पाका प्रकाश (थर गोप्य राखिएको) ३ वर्ष पहिला साउदीको एक राम्रो रेस्टुराँन्टमा काम गर्थे । तर, छोटो समयमा धेरै कमाई हुने साथीभाइको गफ सुनेर उनले उक्त कम्पनी छोडे । त्यसपछि मदिरा(रक्सी) बनाउने र बेच्ने गर्न थाले । त्यस्तो अवैध कारोबार गरिरहेका बेला प्रहरीको फन्दामा परे ।

त्यसपछि उनका दुःखका दिन सुरु भए । ‘धेरै कमाई हुने आशामा साथीभाइका कुरा सुनेर मदिरा (रक्सी) बनाउने र बेच्ने काममा लागेँ,’ उनले दुःखेसो पोखे, ‘अब त जेलको बास छ । अब नेपाल सरकारले उद्धार गरेर स्वदेश फिर्ता गरिदिए हुन्थ्यो ।’ आफूसँगै काम गर्ने अरू ३३ जना नेपाली पनि मदिरा बनाउने र बेच्ने गरेको आरोपमा जेलमा सँगै रहेको उनले बताए ।

मुगुका हरि (थर गोप्य) पनि रक्सी सेवनको अभियोगमा जेलमा छन् । ‘साथीको कोठामा १२/१५ जना जम्मा भएका लोकल रक्सी पिउँदै रमाइलो गरिरहेका थियौं,’ हरिले भने, ‘त्यस क्रममा साथीभाइबीच झगडा पर्‍यो । रुम नजिकै बस्ने पाकिस्तानीले प्रहरीलाई खबर गरेछ । प्रहरी आएर सबैलाई समातेर लग्यो । जेलमा परेको २० महिना भइसक्यो ।’

आफू लगायतका साथीहरू जेल परेको खबर कम्पनीलाई दिएपछि उल्टै कम्पनीले चोरीको आरोप लगाएको उनको भनाइ छ । ‘कम्पनीले त सामान चोरी गरेको भनेर जरिवाना स्वरूप १ लाख रियालसहित मलाई मुद्दा हाल्यो,’ उनले भने, ‘अदालतले पनि दोषी करार दिँदै जेल चलान गर्‍यो ।’ उद्धारको पर्खाइमा रहेको उनले बताए ।

बागलुङका होम(थर गोप्य) २२ महिना पहिले साउदीको अल हबिद कम्पनीमा ड्राइभर भिसामा आएका थिए । तर, साथीभाइको कुरा सुनेर बीचमै कम्पनी छोडे । साथीहरूले उनी कार्यरत कम्पनीभन्दा दुई गुणा बढी पैसा कमाई हुने लोभ देखाएका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति