इलाम । इलाम नगरपालिका ९, सेरामा १३ वर्षअघि निर्माण भएको कोल्ड स्टोर (शीतभण्डार) अहिलेसम्म प्रयोगविहीन छ ।
साढे पाँच करोड रुपैयाँ खर्चेर निर्माण गरेको शीतभण्डारलाई अहिले वैकल्पिक प्रयोग गर्नेबारे छलफल हुँदैछ ।
भारतीय दूतावासको सहयोगमा २०६८ चैतमा निर्माण भएको शीतभण्डार शीतभण्डार सम्भाव्यता अध्ययनबिनै निर्माण गरिएकाले र एउटै मात्र कोठा (चेम्बर) निर्माण भएकाले सञ्चालनमा समस्या आएको जानकार बताउँछन् ।
यति लामो समय शीतभण्डार चलाउन नसकिएपछि त्यो संरचनामा के गर्दा उपयुक्त होला भन्ने विकल्प खोज्न थालिएको इलाम नगरपालिकाकी उपमेयर विष्णुकुमारी दाहालले बताइन् ।
‘अहिलेसम्म चलाउनै सकिएन अब यसमा के गर्दा ठीक होला, सबैसँग सुझाव माग्न थालेका छौं । उपयुक्त काममा प्रयोगमा ल्याउन खोजिरहेका छौं,’ उनले भनिन् ।
दुई हजार मेट्रिक टन क्षमताको शीतभण्डार एक पटक ठेक्कामा लगाइएपनि सञ्चालन हुन नसकेको इलाम नगरका इन्जिनियर दीपक गुरागाईंले बताए । गुरागाईंका अनुसार शीतभण्डारमा जडान गरिएको बिजुली पाँच वर्षअघि नै काटिएको छ ।
‘नगरपालिकाले पटक–पटक शीतभण्डार सञ्चालनका लागि पहल गरेको थियो, सञ्चालन गर्न पाँच–छ जना आउनुभएको पनि हो । कुराकानी भएपछि केही दिनमा आउछौं भनेर जानेहरू फेरि आउनुभएन । एक पटक सञ्चालन सुरु भएको थियो तर सञ्चालकले नै चलाउनुभएन,’ गुरागाईंले भने, ‘शीतभण्डार सञ्चालन गर्न नगरपालिकाले पनि पाँच वर्षसम्म निःशुल्क दिने, विद्युतको महसुल तिरिदिनेलगायत सुविधासमेत अघि सारेको थियो । तर सञ्चालन हुनै सकेन ।’
सुन्तला, किबी, आलु, उत्पादक, हरियो चिया, जडीबुटी, अन्य तरकारी तथा फलफूलका लागि शीतभण्डार निर्माण गरिएको थियो । ‘भित्र एउटै चेम्बर भएकाले र कृषिउपजको सम्भाव्यता अध्ययन नभएकाले उपयुक्त भएन, त्यसलाई अझै सुधार गर्न सकिन्छ,’ इन्जिनियर गुरागाईंले भने, ‘संरचना चाहिँ राम्रै छ ।’