इलामका आठ पालिकाका जग्गाको कित्ताकाट रोक्का

इलाम । सरकारले ल्याएको भू–उपयोग नियमावली २०७९ ले व्यवस्था गरेअनुसार स्थानीय तहले काम नगर्दा मालपोत कार्यालय इलामले आठ पालिकाको जग्गासम्बन्धी काम रोक्का गरेको छ ।

भू–उपयोग क्षेत्र नक्सा तथा विवरण अध्यावधिक गरिसक्नुपर्ने र ०८१ साउन ३२ सम्ममा मालपोत कार्यालयमा आइसक्नुपर्ने भएपनि ती पालिकाले अध्यावधिक विवरण नपठाएकाले काम रोक्का गरिएको कार्यालयले जनाएको छ ।

इलाम, माई नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ, चुलाचुली, माङसेबुङ, फाकफोकथुम गरी आठ पालिकाको काम रोक्का गरिएको प्रमुख मालपोत अधिकृत चन्द्रप्रसाद मिश्रले बताए । सूर्याेदय र देउमाईको भने काम रोकिएको छैन ।

‘हामीले यी पालिकालाई धेरै ताकिता गर्दा पनि विवरण आएन, अब सरकारले केही सूचना जारी गरे त्यहीअनुसार हुन्छ, नत्र ऐनअनुसार काम गर्नसक्ने अवस्था छैन,’ उनले भने, ‘रोङ गाउँपालिकाको भने ससिम कित्ताको कामसम्म हुन्छ ।’

नियमावलीमा हरेक स्थानीय तहले कृषि, आवास, वन, व्यवसाय, आवास, खानीलगायत क्षेत्रमा जग्गा वर्गीकरण गरी मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

वर्गीकरण भएको मितिले एक वर्षभित्र अध्यावधिक गरी मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको प्रमुख अधिकृत मिश्रको भनाइ छ ।

जग्गाको कित्ता काटसँगै, दृष्टि बन्धक, अंशबन्डा पास, धितो बन्धकलगायका काम पनि रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति