ताप्लेजुङ । समुद्र सतहबाट चार हजार तीनसय मिटर उचाईमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा हुने ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ।
भदौ २६ गते हुने रनको तयारी अवस्था बारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं आयोजक तिम्बुङ पोखरी संरक्षण तथा सम्वद्र्धन समितिले रनका लागि आवश्यक तयारी लगभग सकिएको बताएको हो।
समितिका सल्लाहकार कैलाश राई (प्रकाश) ले प्रतियोगिताको आवश्यक तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार तिम्बुङ पोखरीबाट ओरालोतर्फ करिव ८ किलोमिटर (७.८ किमी) दुरीमा दौड हुने छ। दौडका लागि सहभागीले नाम दर्ता सुरु गरिसकेको र ११ जनाले नाम दर्ता गरिसकेको राईले जानकारी दिए।
रनका बिजेताले नगद ३० हजार,उपबिजेताले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार पुरस्कार पाउने भएका छन्। उचाईको क्षेत्र तिम्बुङ पोखरीमा पहिलोपटक उक्त प्रतियोगिता हुन लागेको हो।
ताप्लेजुङको सिदिङवा गाउँपालिका र स्थानीय बासिन्दाहरुको प्रयासमा तिम्बुङ पोखरी क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनका लागि ‘तिम्बुङ पोखरी ट्रेल रन’को आयोजना गरिएको समितिका सल्लाहकार मदन खरेलले जानकारी दिए।