यो वर्ष पनि सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

काठमाडौं । यो वर्ष पनि सरकार सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी छनोट गर्न असफल भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आज निजामती सेवा दिवसको अवसरमा १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजमाती सेवा पुरस्कार पाउनेहरुको नाम समेत टुंगो लागिसकेको छैन ।

स्रोतका अनुसार दलीय भागबण्डा समेत मिलाउनु पर्ने भएपछि सूची बनाउन सकस भएको हो । ‘४० जनाको सुची टुंग्याउन त राजनीतिक दबाबले यति धेरै सकस छ,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘सर्वोतकृष्ट दिने भनियो भने त सबैले आ–आफ्ना दाबी राखेर झल्न नै सदिँदैन ।’

सरकारले पूर्वसचिव गोपीकृष्ण खनाल, कानुन सचिव उदयराज सापकोटा र संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदी समेत रहेको समिति बनाएर पुरस्कार पाउने कर्मचारीहरु छनोट गर्ने निर्णय गरेको थियो ।

मुख्यसचिवले नेतृत्व गर्ने यो समितिले गरेको मूल्यांकनका आधारमा सवोत्कृष्ट कर्मचारी छनोट गर्न नसकिएको संघीय मामिलाका एक अधिकारीले बताए ।

संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीका करिब ६८ हजार भन्दाबढी कर्मचारी कार्यरत छन् । उनीहरुमध्ये करिब ४२ हजार कर्मचारी संघ सरकारकै माहतहतमा छन् । तर हरेक वर्ष सर्वोत्कृष्ट कर्मचारी नै भेटिएको तर्क गर्ने गरिएको छ ।

२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशिसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो ।

वर्षैसाल १० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ ।

पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।

त्यसयता हरेक वर्ष निजामती र उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएको छ । सर्वोत्कृष्ट कर्मचारी भने नभेटिएको भन्दै पुरस्कार नै दिइएको छैन ।

आज शनिबार पनि सिंहदरबारमा हुने निजामती दिवसको मूल समारोहमा सर्वोत्कृष्ट कर्मचारी घोषणा हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति