बिर्तामोड । झापाको शिवसताक्षीमा भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो ।
घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए ।
गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट देखिएकोले उनीमाथि दाउरा प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र त्यसपछि नारायणले भाइलाई दाउराको चिर्पटले हानेको आशंका गरिएको छ । प्रहरीले राति नै मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।