काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल पहिलोपटक घरेलु टोली क्यानडासँग पराजित भएको छ।
गएराति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको हो ।
ओडीआईमा क्यानडासँग नेपालको यो पहिलो हार हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।
२५४ रनको लक्ष्य पाएको नेपाल ४०.१ ओभरमा १५० रनमै अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।
यस्तै, सन्दीप लामिछानेले २२, आसिफ शेखले २०, भीम सार्कीले १८, गुलशन झाले १५ र कुशल मल्लले १२ रन बनाए ।
यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जाोड्न सकेनन् । ओपनर कुशल भुर्तेल १ रन बनाएर आउट हुँदा रोहित पौडेल ५, दीपेन्द्रसिंह ऐरी ८ र सोमपाल कामी ६ रनमा आउट भए ।
क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।
त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो ।
एक समय ४० ओभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोडेको थियो ।
क्यानडाका लागि कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले ।
नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए ।
नेपालका सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट लिए ।
नेपालले बुधबार ओमानसँग खेल्नेछ ।