बुद्धशान्तिका साप्कोटा माथि डीएसपी हुँ भन्दै झुक्याएर विहे गरि घरेलु हिंसा गरेको आरोप

बुधबारे । झापा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ सयपत्री टोल निवासी भूमिनाथ सापकोटाले श्रीमती गिता पाण्डे सापकोटालाई झुक्याएर विहे गरेको र विवाह पश्चात घरेलु हिंसा गरेको आरोप लागेको छ ।

श्रीमती गिताले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भूमिनाथ सापकोटाले आफुमाथि हिंसा गरेको बताइन् ।

आफु जापानमा वैदेशिक रोजगारको सिलसिलामा रहेका बेला विभिन्न माध्यमबाट चिनजान भएका सापकोटाले ‘अनुसन्धान विभागको डीएसपी हुँ’ भनेर परिचय दिएको बताइन् ।

गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नम्बर १ माइती घर भएकी गिताले डीएसपी भनेपछि पढालेखा भएकै मान्छे होला भन्ने ठानेको र पहिलाकी श्रीमतीको क्यान्सरबाट निधन भएको र दुई छोरीहरु रहेको बताएपछि उनीहरुको अभिभावकत्व लिने सोँचका साथ विवाह गर्ने निर्णय गरेको बताइन् ।

गिताले गुल्मीमा क्यान्सर पीडित आमा र अनाथ बच्चीलाई पालन पोषण गर्दै आएकी थिइन् । अरु आफन्त नभएको र छोरीहरु मावलामा बस्ने गरेको भूमिनाथले बताएपछि उनले आमालाईसमेत झापा ल्याउने, मावलामा रहेका भूमिनाथका छोरीहरुलाई पनि एकै ठाउँमा ल्याउने शर्तमा २०७८ भदौ २६ गते काठमाण्डौ चावहिलस्थित गणेश मन्दिरमा भूमिनाथसँग विवाह गरेको बताइन् ।

जापानमा छँदै जग्गा खरिद गर्नका लागि भूमिनाथको नाममा दुई पटक गरी १५ लाख रुपैँया र विवाहपश्चात २०७८ असोज १ गते आफन्त नेत्रलाल पाण्डेले ३० लाख रुपैँया भूमिनाथलाई पठाएको उनले बताइन् । तर सो रकम मध्ये १३ लाख रुपैँयामा १० धुर जग्गामात्र भूमिनाथले गिताको नाममा पास गरिदिए ।

गिताका अनुसार विवाह पश्चात आमालाई सँगै राख्ने शर्त भूमिनाथले अस्वीकार गरे र गितालाई घरेलु हिंसा गर्न थाले । ‘उहाँले मलाई तीन पटक कुट्नु भएको छ,’ उनले भनिन् । विस्तारै भूमिनाथले आफ्नो सम्पत्ति लुकाउन थाले । लिँदै नलिएको ऋण देखाएर जग्गा दाजु युवराजको नाममा २०८१ असार १३ गते पास गरेको तर सामाजिक दबाबका कारण युवराजले भदौ १६ गते जग्गा फिर्ता गरेको गिताले बताइन् ।

महंगो मुल्यमा किनेको गाडीसमेत सस्तो मुल्य राखेर अर्कै व्यक्तिको नाममा सारेको आफुले सुनेको गिताको भनाई छ ।

आमालाई साथमा राखेर उपचार गर्न नपाएपछि आफुले भूमिनाथलाई दिएको ४५ लाख रुपैँयामध्ये जग्गा खरिदमा लागेको १३ लाख कटाएर बाँकी रकम माग्न थालिन् । तर, भूमिनाथले एक हातमा डिभोर्स र अर्कोहातमा लालपूर्जा भन्ने गरेको उनको गुनासो छ ।

‘आमालाई सँगै राख्ने अवस्था नभएपछि आमा र अनाथ बालिकाको पालनपोषणका लागि पैसा पठाइदिन मैले उहाँसँग पैसा मागेँ,’ उनले भनिन्, ‘तर उहाँ र उहाँको परिवारले एक हातमा डिभोर्स पेपर र अर्को हातमा लालपूर्जा भनेर म माथि अन्याय गर्न थाल्यो ।’

उनले न्यायका लागि पारिवारिक तथा विभिन्न सामाजिक छलफलमा सहभागी भएपनि निष्कर्ष ननिस्किएको बताइन् । बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा समेत छलफल भएर रकम फिर्ता गर्ने निर्णय भएपनि भूमिनाथले निर्णय कार्यान्वयन नगरेको स्थानीय मुना दाहालले बताइन् ।

सो रकम भूमिनाथबाट फिर्ता लिएर आमाको उपचारमा पठाउने, भूमिनाथकी पहिलो पत्नीका दुई छोरीहरुको आफुले आमाको भूमिकामा रेखदेख गर्ने गिताको भनाई छ । आफुले डिभोर्स गर्न नचाहेपनि भूमिनाथ र उनको परिवारले दबाब दिएको उनी बताउँछिन् ।

भूमिनाथको परिवार प्रमाणी भएका कारण आफुपनि प्रणामी भएको र आफु दुब्लो हुँदै गएपछि भूमिनाथले ‘सिनो खान नपाएर दुब्लाएकी जस्ता’ अपशब्द प्रयोग गर्दै गाली गर्ने गरेको उनले भावुक मुद्रामा दुखेसो पोखिन् ।

उनका अनुसार हिंसाका कारण परिवारमा बस्ने अवस्था नभएपछि आफु गत साउन ४ गतेदेखि स्थानीय निर्मल पाण्डेको घरमा शरण लिएर बस्दै आएकी छिन् ।

स्थानीय मुना सापकोटा भट्टराईले गिता अन्यायमा परेको भन्दै न्यायका लागि सबैले आवाज उठाउनुपर्ने बताइन् । भूमिनाथका दाजु हरिप्रसाद सापकोटाले गिता परिवारबाटै पीडित भएको भन्दै उनको न्यायको लागि उचित पहल गर्ने बताए ।

गिताले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेकाले सुस्त गतिमा सम्पादन हुने कानुनी बाटोभन्दा सामाजिक ढंगबाट न्याय दिलाईदिन परिवार, राजनीतिक दल, जनप्रतिनिधी, अधिकारकर्मी, सञ्चारकर्मी, समाजसेवीलगायत सम्पूर्ण न्यायप्रेमी समुदायलाई आग्रह गरेकी छन् ।

यस बिषयमा भूमिनाथसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

भिडियो हेर्नुहोस् ।

भिडियोः पूर्वी गर्जन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति