विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै प्रधानाध्यापक

दाङ । गाउँमा कपाल काटिदिने कोही पनि छैनन्। कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन्।

पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टंक केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरेका छन्।

सुरु–सुरुमा आफैँले कपाल काटिदिने गरेसँगै उनले विस्तारै विद्यार्थीलाई कपाल काट्न सिकाए। अहिले विद्यार्थीले एक अर्काको कपाल काटिदिने गरेका प्रअ केसीले बताए।

‘सुरुसुरुमा शिक्षकले विद्यार्थीको कपाल काटिदियौँ’, उनले भने,‘पछि विद्यार्थीलाई सिकायौँ, अहिले उनीहरुले एक अर्काको कपाल काटिदिने गर्छन्।’

प्रअ केसीका अनुसार दैनिक सातदेखि १० जनाको यसरी विद्यालयमा कपाल काट्ने गरिएको छ। यसले विद्यार्थीमा सरसफाइको बानी विकास हुनाका साथै सीप विकास पनि हुने अपेक्षा गरिएको उनले बताए। उनका अनुसार विद्यार्थीको कपाल काट्न मेसिनको व्यवस्था गरिएको भन्दै सोही मेसिनद्वारा कपाल काट्दा प्रविधमिा समेत केही ज्ञान हासिल हुने विश्वास लिइएको उनले बताए।

‘गाउँमा कपाल काटिदिने जनशक्तिको अभाव छ, न्यून आय भएका विद्यार्थी यस विद्यालयमा अध्ययन गर्ने भएकाले बजार गएर कपाल काट्न पनि सक्दैनन्’, प्रअ केसीले भने, ‘त्यसैले हामीले विद्यालयमा कपाल काटिदिने गरेका छौँ।’

लामो कपाल हुँदा विद्यार्थीलाई असहज हुने र सरसफाइ पनि नहुने भएकाले यस्तो कार्यको सुरुवात गरिएको उनले बताए। यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा विद्यालय प्रशासन रहेको प्रअ केसीले जानकारी दिए।

विद्यालयले किताबी ज्ञान मात्रै नभइ आधारभूत सीप पनि सिकाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता अनुसार कपाल काट्ने सीप सिकाइएको उनले बताए। यस्ता सीपले विद्यार्थीको जीवन निर्वाहमा सहज बनाउने उनको बुझाइ छ।

‘हामीले विद्यार्थीलाई किताबी ज्ञान मात्रै होइन्,आधारभूत सीप पनि दिनुपर्छ’, प्रअ केसीले भने,‘यस्ता सीपले विद्यार्थीलाई जीवन निर्वाहमा पनि सहज बनाउने गर्छ।’ आवश्यकता अनुसार अन्य सीप पनि सिकाउने योजना बनाइएको उनले उल्लेख गरे।

यो सीप सिकेर प्रयोग गर्न थालेपछि विद्यार्थी र अभिभावक पनि खुसी छन्। कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा अहिले कक्षा १ देखि ३ सम्म अंग्रेस माध्यममा पठनपाठन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति