विराटनगर । बाबुसँगै जंगल जाँदा बेपत्ता भएका एक बालकको कंकाल फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार केराबारी गाउँपालिका–६ बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दीपबहादुर तामाङको कंकाल शनिबार दिउँसो भेटिएको हो ।
आहाले समुदायिक वनभित्र कंकाल फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार जंगलमा दाउरा खोज्न गएकाहरूले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी भदौ २३ गते बाबु पदमबहादुरसँग जंगल गएको खुलेको छ । बेपत्ता भएको १३ दिनपछि उनको कंकाल भेटिएको हो ‘बन्चरोको बिँड काट्नलाई भनेर बाबु–छोरा जंगल गएका रहेछन् । काम सकिएपछि बाबु घर फर्किए । छोराले म केहीबेरमा आउँछु भनेर भनेछन् । तर, फर्किएर आएनन् ।
परिवार र आफन्तले खोजी गरिरहेका बालकको कंकाल फेला परेको हो,’ डीएसपी जोशीले भने ।
उनका अनुसार कंकालको केही भाग रुखले किचिरहेको अवस्थामा भेटिएको छ ।