अत्यधिक गर्मीका कारण झापासहित पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।
केही दिनदेखि बढिरहेको गर्मीका कारण मानिसहरू ढल्न थालेका छन् । केही दिन अघि गिरीबन्धु टी ई स्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मीका कारण बिर्तामोड ६ की ३६ वर्षीया राधिका जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
त्यस्तै कनकाईको कोटीहोम क्षेत्रमा एक जना वृद्धा आज अत्यधिक गर्मीका कारण ढलेकी छन् । कोटीहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्याम कुटीमा केही समय राखेको र सुरुङ्गामा रहेकोे स्वास्थ्य केन्द्रमा लागिएको जनाएको छ। बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती वृद्धाको पहिचान खुल्न बाकी रहेको छ।
नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् ।
मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका भेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताउनुभयो । यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको सो समय सम्म हल्का वर्षा हुने सक्ने मौसमविद्ले अनुमान गरेका हुन् ।
गर्मी बढेसँगै कनकाई ३ सुरुङ्गामा रहेकोे हरिकुल नमूना माविले सोमबार एक दिन बिदा दिएको छ। गर्मी अत्याधिक बढेकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरेर बिदा दिइएको विद्यालय प्रशासनले जनाएको छ।