झापाकी एक महिलाको भारतमा हत्या

बिर्तामोड । झापा भद्रपुर नगरपालिका–६ तेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको असोज २ गते भारतमा हत्या भएको प्रहरीले जनाएको छ ।

उनको शव भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टानजिकैको केरा बगानमा भेटिएको हो ।

उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले भेट्टाएको थियो। अनुहार कीराले खाइसकेकोले पहिचान समेत नखुलेको उनको शव केराको पत्ताले छोपिएको थियो ।

केरा बगानमा शव गन्हाएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्वउत्तरमा पर्छ ।

खोराबारी पुलिसले शवको कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज पठाएका थिए ।शव पहिचान नखुलेको अवस्थामा घटना भएको ५ दिनपछि ती महिला भद्रपुरको भएको खुलेको हो । मृतक बबिता सागसब्जी बिक्री गर्थिन् ।

बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजारमा सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए । बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव सीमापारि भारतमा भेट्टिएको खबर सुनेर उनका परिवारजनले तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए ।

परिवारजनले उनले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए । ‘बबितालाई हत्या गरी केरा बगानमा लगेर शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने ।

घटना शंकास्पद भएकाले खोरीबारी पुलिस थानामा गएर चारजनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ ।चारैजना भारतीय नागरिक हुन् । प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेको उनले बताए ।उनीहरूको बबितासँग आर्थिक लेनदेन थियो ।

नेपाल प्रहरीसँग समन्वय गरी बबिताको शव आज दिउँसो साढे ३ बजे घर ल्याएर दाहसंस्कार गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति