बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ ।
आइतबार बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा टाउको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
गत जेठ १५ गते बाह्रदशी–५ फुलाबारीका भीम हजामको २२ वर्षीय राजेश हजाम कसैलाई नसोधी घरबाट हिँडेका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीमले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते हुलिया निवेदन दिएका थिए ।
उनको खोज गर्नेक्रममा राजेशको हत्या भएको हुनसक्ने विषेश सूचान असोज १७ गते प्रहरीलाई प्राप्त भएका प्रवक्ता चन्दले बताउनुभयो । असोज १८ गते शंकास्पद चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा बाह्रदशी–७ का ३१ वर्षीय समिर राजवंशी, २१ को आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजबंशीलाई नियन्त्रणमा लिएको छ ।
बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।