बिर्तामोड । झापाको अर्जुनधारामा एकजना व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सोमबार दिउँसो ३.५० बजे अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाँडाका भरत कुमालको घर आँगनमा सोही वडाको जुंगेघारी बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले धारिलो हतियारले घाँटीमा प्रहार गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना भुजेल चौहानको हत्या गरेका हुन् ।
हतियार प्रहारबाट मुनाको घटनास्थलमै मृत्यु भएको छ । हतियार प्रहार गरी वीरबहादुर फरार भएका थिए ।
जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले दिउँसो ४.५५ बजे उनलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले बताए ।
घटनाका बेला श्रीमान् श्रीमती दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । घरायसी झैझगडाका कारण वीरबहादुरले मुनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी विष्टले बताए ।
पहिलाको श्रीमानलाई छोडेर मुना वीरबहादुरसँग आएकी थिइन् । उनीहरूका एक छोरा र एक छोरी रहेका छन् । वीरबहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।