जब बच्चा हुर्कंदै जान्छन्, उनीहरूमा तीन प्रकारको विकास हुन्छ । एक– शारीरिक, दुई– सामाजिक, तीन– भावनात्मक । त्यसमध्ये हामीले आँखाले देख्ने विकास भनेको शारीरिक हो । शारीरिक विकास हामी झट्ट देख्न सक्छौं ।
अहिले हाम्रो बालबालिकालाई पढाउने जुन तरिका छ, त्यो शारीरिक विकासमा केन्द्रित छ । त्यस्तै हाम्रो ‘प्यारेन्टिङ’ अर्थात् बच्चा हुर्काउने विधि पनि शारीरिक विकासमा केन्द्रित छ । तर, एउटा बच्चालाई कसरी भावनात्मक र सामाजिक रूपमा विकास गर्न सकिन्छ ? यसबारे हाम्रो विद्यालयको शिक्षाले केही भन्दैन । पाठ्यक्रमले केही भन्दैन ।
उदाहरणका लागि, तपाईंले कुनै विद्यालय-कलेजको विज्ञापन हेर्नुहोस् । त्यसमा यस्तो विद्यार्थीको फोटो राखेर विज्ञापन गरिन्छ, जसको भौतिक विकास भएको देखिन्छ । जस्तो, परीक्षामा उत्कृष्ट अंक हासिल गरेका छन् भने, रूपरंगका हिसाबले ‘सुन्दर’ देखिएका छन् भने, कुनै चर्चा कमाएका छन् भने ।
जबकि त्यस विद्यालयमा राम्रो चित्र बनाउने विद्यार्थी हुनसक्छन्, सहृदयी व्यवहार गर्ने विद्यार्थी हुनसक्छन्, सहयोगी व्यवहार भएका विद्यार्थी हुनसक्छन् । उनीहरूको गुण र खुबीलाई पहिचान नै गरिंदैन । विद्यालयका लागि उनीहरू ‘पब्लिक फेस’ बन्दैन । विज्ञापन बन्दैन ।
यसको सोझो अर्थ के भने, हामीले बालबालिकाको भावनात्मक विकासलाई त्यति धेरै महत्व दिएका हुँदैनौं । अब सामाजिक विकासको कुरा गरौं । बालबालिकाको सामाजिक विकासमा अभिभावक र शिक्षकको बराबरी भूमिका हुन्छ ।
मानौं घरमा कुनै पाहुना आए । हामी के गरिरहेका हुन्छौं भने पाहुनासँग बस्ने, गफ गर्ने, खाने, पिउने । यसक्रममा बच्चासँग चिनजान गराइदिने, उनीहरूको बारेमा सोध्ने गर्दैनौं । त्यसबेला हाम्रो बच्चाले कस्तो व्यवहार गर्छन् ? पाहुनासँग कस्तो प्रतिक्रिया जनाउँछन् ? यस कुरामा हामी उति ध्यान दिंदैनौं ।
त्यसै त अहिले हाम्रा बालबच्चा घरबाट बाहिर निस्कने वातावरण छैन । त्यसमाथि घरभित्र पनि उनीहरूलाई सामाजिक गतिविधिमा सहभागी गराउँदैनौं । यसले गर्दा उनीहरूको सामाजिक विकास पनि त्यति राम्ररी भएको पाइँदैन ।
अहिले हामीले शारीरिक वा भौतिक रूपमा बच्चाहरू ठिकठाक देख्छौं । तर, भावनात्मक र सामाजिक रूपमा त्यति ठीक देखिंदैन । त्यसैले अभिभावक, शिक्षक वा विद्यालयले यदि ‘म आउने युगका लागि स्वस्थ बच्चा तयार गर्दैछु’ भन्ने सोच्छ भने उनीहरूले शारीरिक, सामाजिक र भावनात्मक तीनवटै विकासमा ध्यान दिनुपर्छ ।
सही अर्थमा कुनै बच्चालाई कुनै विद्यालयले परीक्षा लिंदैछ, मूल्यांकन गर्दैछ, ग्रेडिङ गर्दैछ भने यी तीन वटा कुरालाई आधार बनाउनुपर्छ । कुनै बच्चा शैक्षिक प्रदर्शन (एकेडेमिक पर्फमेन्स)को आधारमा मात्र उत्कृष्ट भन्न मिल्दैन । उनीहरूले राम्रो पढ्यो, परीक्षामा हु–बहु जवाफ लेख्यो, राम्रो अंकका साथ उत्तीर्ण भयो भन्दैमा त्यो बच्चा ठीक छ भनेर मूल्यांकन गर्न सकिंदैन । हो, उनी पढ्नमा तगडा होला । तर, उनको सामाजिक र भावनात्मक स्थिति कस्तो छ ? छुटाउन मिल्दैन ।
मानौं एक जना बच्चा गणितमा अत्यन्तै कमजोर छ, तर उसले राम्रो कविता लेख्छ । अथवा राम्रो चित्र बनाउँछ । अब उक्त बच्चालाई कसरी मूल्यांकन गर्ने ? राम्रो कविता लेख्ने बच्चा चाहिं परीक्षाको ग्रेडमा ‘सी प्लस’ मात्र हो त ? ‘डी प्लस’ मात्र हो त ?
अहिलेसम्म अभ्यास हुँदै आएको कुरा त यही हो । विद्यालयको पाठ्यक्रम, पठन प्रक्रिया, परीक्षा विधि, नतिजा प्रणालीले विषयगत जानकारी भएका विद्यार्थीलाई मात्र ‘उत्कृष्ट’ भन्छ । जबकि राम्रो चित्र बनाउने, राम्रो वाक्–कौशल भएको, राम्रो अभिनय क्षमता भएको, राम्रो आचरण भएको विद्यार्थीलाई त्यो परीक्षा विधिले समेट्दैन । त्यसैले उनीहरू ‘असफल’ वा ‘कमजोर’ ठह¥याइन्छ ।
यसको अर्थ के भने, हाम्रो विद्यालयमै त्रुटि छ । पढाउने तरिकामा त्रुटि छ । परीक्षामा त्रुटि छ । र, सबैभन्दा ठूलो त्रुटि पाठ्यक्रममै छ । अब हाम्रो बालबालिकाले पढिरहेका पाठ्यक्रम ‘फेज आउट’ भइसक्यो ।
किनभने अबको पाठ्यक्रमले विद्यार्थीलाई ‘जानकारी’ मात्र दिएर पुग्दैन उनीहरूलाई कसरी खुसी हुने भन्ने कुरा सिकाउनु महत्वपूर्ण छ । किनभने अहिलेका बालबालिकाहरू खुसी हुन जान्दैनन् ।
बच्चाहरू विद्यालयबाट आउनासाथ हातखुट्टा धोएर होमवर्क गर्ने हतारोमा हुन्छन् । उनीहरूलाई आरामले खाने पनि फुर्सद हुँदैन । बिहान आँखा खोल्नासाथ किताब, युनिफर्म, जुत्ता, टिफिन बक्स मिलाउनुपर्ने । म मर्निङ वाकमा देख्छु, विद्यालयको बसमा बालबच्चाहरू हुँइकिरहेको । मानौं उनीहरू कुनै युद्ध जित्नका लागि यति हतार गरिरहेका छन् ।
बिहान उठ्नासाथ पढाइ, राति अबेरसम्म पढाइ । यस किसिमको दैनिकीले गर्दा उनीहरूको भावनात्मक र सामाजिक विकास त हुन पाएको छैन नै, मानसिक स्वास्थ्यमा नराम्रो असर पुगिरहेको छ । त्यसैले त अहिले हाम्रा बालबालिकाहरू हाँस्न जान्दैनन् ।
हाम्रो विद्यालय प्रणालीले बच्चालाई हाँस्न वा खुसी हुन होइन बरु तनाव दिने काम गरिरहेको छ । उनीहरूलाई होमवर्कको तनाव, पाठ घोक्नुपर्ने तनाव, उत्तर दिनुपर्ने तनाव, परीक्षा दिनुपर्ने तनाव । एक हिसाबले सजाय भोगिरहेको अवस्था हो, यो । त्यसैले त उनीहरू विद्यालयबाट फर्किरहँदा थकित देखिन्छन् । मलिन देखिन्छन् ।
खासमा त उमंगित भएर भन्नुपर्ने हो, ‘मेरो विद्यालयमा आज यस्तो भयो, कक्षाकोठामा यस्तो भयो, यस्तो कुरा सिकें, यस्तो कुरा थाहा पाएँ !’
हामीले बालबालिकालाई विद्यालय पढाउने भनेको कुनै हैरान होइन उत्साहित हुनका लागि हो । तनावग्रस्त हुनका लागि होइन खुसीका लागि हो । यसर्थ अब ‘ह्याप्पिनेस करिकुलम’, ‘वेलनेस करिकुलम’ जरूरी भइसक्यो ।
हाम्रो जीवनको सबैभन्दा ठूलो सत्य हो, मान्छे जन्मँदा रुन्छ । रुन त उनले जन्मजात सिक्छ । तर, खुसी हुनका लागि हामीले सिकाउनुपर्छ । तीन, चार महिनाको भएपछि बल्ल बच्चाले प्रतिक्रिया जनाउन थाल्छ । हाँस्न वा खुसी हुन थाल्छ । हाँस्न हामीले नै सिकाउनुपर्छ । खुसी हुन हामीले नै सिकाउनुपर्छ ।
त्यसैले अब हाम्रा बालबालिकालाई ‘खुसी हुने शिक्षा’ चाहिएको छ । सफल हुने र प्रतिस्पर्धा गर्ने शिक्षाले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाइसक्यो । उनीहरू थाकिसके । अबको शिक्षाले उनीहरूलाई सफल होइन सक्षम बन्न सिकाउनुपर्छ । प्रतिस्पर्धा गर्न होइन, सहकार्य गर्न प्रेरित गर्नुपर्छ । अनलाइन खबरबाट