बालबालिकाको मोटोपन नियन्त्रण गर्ने ९ उपाय

बदलिंदो जीवनशैलीका कारण बालबालिकामा मोटोपनको समस्या तीव्र रुपमा बढिरहेको छ । यसको पछाडिको प्रमुख कारण खानपान हो । हिजोआज बालबालिकाले जङ्क फुड र प्याकेट फुड धेरै खाने गरेका छन्, जसले मोटोपन बढ्न थालेको छ ।

धेरैजसो बालबालिका मोबाइल, ट्याब जस्ता ग्याजेटमा समय बिताउँछन् । शारीरिक गतिविधिमा संलग्न हुँदैनन् । जसले गर्दा पनि उनीहरूको तौल अनियन्त्रित रूपमा बढ्दै जाने हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ । यसबाट मधुमेह, उच्च रक्तचाप र मुटुरोग निम्त्याउन सक्छ ।

यस्तोमा आमाबाबुको सही निर्देशनले बालबालिकाको तौल नियन्त्रण गर्न र स्वस्थ राख्न मद्दत गर्न सक्छ ।

बच्चालाई स्वस्थ जीवनशैलीतर्फ डोर्‍याउन अभिभावकले अपनाउन सक्ने सरल उपाय

स्वस्थकर आहारको महत्त्व बुझाऔ

अभिभावकले बालबालिकालाई सन्तुलित र पौष्टिक खाना खान प्रेरित गर्नुपर्छ । चिप्स, बिस्कुट, चकलेट र चाउचाउ जस्ता चिनी र नुनको मात्रा बढी भएका प्रशोधित खानेकुरा कम खान दिनुपर्छ । यस्ता खानेकुराको सट्टामा फलफूल, तरकारी, गेडागुडी, ड्राइफ्रुट र सम्पूर्ण अन्न खुवाउनुपर्छ ।

बजारको खानेकुरा भन्दा घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाउनुपर्छ । घरमै पकाएको खाना खुवाउँदा बच्चाले राम्रो पोषण पाउँछन् र उनीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि राम्रो हुन्छ ।

आउटडोर खेल खेल्न प्रोत्साहन गरौं

बच्चालाई शारीरिक रूपमा सक्रिय बनाउनु पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले दैनिक कम्तीमा एक घण्टा खेलकुद वा बाहिरी गतिविधिमा संलग्न गराउनु उपयुक्त हुन्छ । साइक्लिङ, दौड, स्वीमिङ तथा अन्य रमाइला खेल खेल्न प्रोत्साहन गर्नुपर्छ । यस्ता खेलले बालबालिकालाई सक्रिय राख्न मद्दत गर्छ । साथै परिवारसँग हाइकिङ जाने, फुटबल खेल्ने पनि गर्न सकियो ।

स्क्रिन समय सीमित गरौं

टिभी, मोबाइल धेरै हेर्दा बच्चाहरू निष्क्रिय हुन्छन् र यसको असर तौलमा देखिन्छ । बच्चाहरूको स्क्रिन समय प्रतिदिन एकदेखि दुई घण्टामा सीमित गर्नुपर्छ । बच्चाको स्क्रिन टाइम सीमित गरियो भने उनीहरूले बाँकी समय अन्य काममा बिताउन पाउँछन् । स्क्रिन टाइम कम गरेर बाँकी टाइममा बच्चालाई बाहिर खेल्न पठाउने वा अभिभावक नै बालबालिकासँग खेल्न सक्छन् ।

खाना खाने तरिका सुधारौं

बालबालिकामा समयमै खाना खाने बानी बसाल्नुपर्छ । उनीहरूलाई खाना खुवाइदिने भन्दा पनि आफैं खान सिकाउनुपर्छ । परिवारसँगै राखेर खाना खाने बानीको विकास गर्नुपर्छ । परिवारसँगै खाना खाँदा बच्चाहरू खानामा केन्द्रित हुन्छन् । टिभी हेर्दै वा खेल्दै गर्दा खाने बानीले बच्चाहरूको तौल बढ्छ, त्यसैले खाना खाँदा ध्यान खानामा राख्नु महत्त्वपूर्ण हुन्छ ।

अभिभावक आफैं रोल मोडल बनौं

बच्चाहरूले आमाबाबुको व्यवहारबाट धेरै कुरा सिक्छन् । यदि अभिभावकले स्वस्थ खाना खान्छन् र शारीरिक रूपमा सक्रिय हुन्छन् भने बच्चाले पनि सोही कुरा अनुशरण गर्छन् । खाना पकाउने बेला बालबालिकालाई पनि संलग्न गराउने, बालबालिकासँग खेल्ने गर्ने गरियो भने बच्चालाई स्वस्थ बानी सिकाउन सजिलो हुन्छ ।

पर्याप्त निद्रा

बालबालिकामा अपर्याप्त निद्रा पनि तौल बढ्नुको कारण हुनसक्छ । यस्तो अवस्थामा बालबालिकालाई ७-८ घण्टा पर्याप्त सुत्न सल्लाह दिनुपर्छ । यसले बालबालिकाको तौल नियन्त्रण मात्रै गर्दैन, उनीहरूलाई ताजा र सक्रिय महसुस गराउँछ ।

स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गरौं

बच्चाको तौल नियन्त्रण गर्नमा मात्र केन्द्रित हुनु भन्दा पनि उनीहरूलाई स्वास्थ्य जीवनशैली अपनाउन प्रोत्साहन गर्नुपर्छ । उनीहरूको खराब बानीलाई बिस्तारै सुधार गर्दै लैजानुपर्छ । बिस्तारै स्वस्थ खाने बानी र शारीरिक क्रियाकलापमा सक्रिय हुने बानी बसाउनुपर्छ । यसबाट उनीहरूको तौल स्वतः नियन्त्रण हुन्छ ।

पर्याप्त पानी पिउनुको महत्त्व बुझाऊँ

धेरैजसो बच्चा चिनीयुक्त पेय पदार्थ, जस्तै सोडा, जुस पिउन रुचाउँछन्, जसले तौल बढाउँछ । यस्ता पेय पदार्थको विकल्पमा बच्चालाई पानी पिउन प्रोत्साहन गर्नुपर्छ । स्वास्थ्य रहन शरीरमा पानीको सन्तुलन कायम राख्नु जरुरी हुन्छ । त्यसैले बच्चालाई रंगीन पानीका बोतलहरू दिएर पानी पिउन प्रेरित गर्न सकिन्छ ।

विशेषज्ञको सल्लाह पनि महत्वपूर्ण

मोटोपन हुनुमा थुप्रै कारण हुन्छन् । कतिपयमा वंशाणुगत कारणले मोटोपन भएको हुन्छ । बुवा-आमा मोटा छन् भने सन्तान पनि मोटो हुनसक्छन् । यसैगरी कतिपयमा हाइपोथारायडिजमको कारणले अचानक मोटोपन बढेको हुनसक्छ । यसैगरी हर्मोनको असन्तुलनले पनि मोटोपन बढ्न सक्छ । त्यसैले मोटोपन के कारणले भएको हो भनेर जान्नु जरुरी हुन्छ । सोही अनुसार सही विधि अपनाएर मोटोपन नियन्त्रण गर्न सकिन्छ । त्यसैले यदि बच्चाको तौल अत्यधिक छ भने बालरोग विशेषज्ञ तथा पोषणविद्सँग परामर्श लिनु उपयुक्त हुन्छ । उनीहरूले बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर सही मार्गदर्शन दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति