इजरायलले गर्‍यो इरानमा आक्रमण, तेहरानमा सुनियो ठूलो विस्फोटको आवाज

काठमाडौं । इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरूजस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ ।’

इजरायलले एक विज्ञप्ति जारी गरी कारबाही जारी रहेको जनाएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमले पनि राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टीभीलाई उद्धृत गर्दै भनेको छ कि एक इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुनसक्ने बताएका छन् ।

यद्यपि इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

समाचार एजेन्सी एएफपीले इरानको सरकारी टीभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ । ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ ।

बीबीसी मध्यपूर्व क्षेत्रका सम्पादक सेबास्टियन आशरका अनुसार यी आक्रमणहरू इरानले एक महिनाअघि इजरायलमा गरेको मिसाइल आक्रमणको प्रतिक्रिया हो भन्ने बुझिएको छ। उक्त हमलामा इरानले इजरायलमा २ सय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

इरानको रिभोलुसनरी गार्ड्सको नजिकको समाचार एजेन्सीले पश्चिम र दक्षिणपश्चिम तेहरानका केही सैन्य लक्ष्यमा आक्रमण भएको जनाएको छ।

यद्यपि आक्रमणको स्केल र कुन स्थानमा आक्रमण भएको हो भन्ने खुल्न सकेको छैन ।

सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

News-Agency
एजेन्सी