अर्बौंको व्यापार गरिरहेको विचित्रको खेलौना– लाबुबु

लाबुबु, अर्थात् दुई ठूला आँखा, फाँटिएका साना दाँत र केही हदसम्म डरलाग्दो हाउभाउ भएको विचित्रको खेलौना। खेलौना बजारमा कतिपयलाई लाबुबुको यो बनावट ‘क्युट’ लाग्छ, कतिलाई दानवी। लाबुबुप्रतिको धारणा व्यक्तिपिच्छे फरक हुन्छ र शायद यही नै यसको सबभन्दा ठूलो विशेषता पनि हो।

किनभने, आममानिसको बुझाइमा खेलौना भनेको आँखालाई आराम दिने, सुन्दर र चिटिक्क परेको वस्तु हो। तर लाबुबुले भने खेलौनाको स्थापित मानकभन्दा फरक रूप, रङ र हाउभाउका बाबजुद चकित पार्ने गरी विश्वव्यापी व्यापार गरिरहेको छ।

पोकेमोनका विभिन्न कार्डजस्तै, लाबुबु पनि संग्रहणीय सामग्रीमा पर्छ। यद्यपि यो अब केवल खेलौनामा सीमित रहेन। यो एउटा विश्वव्यापी विषय बनेको छ। फेसनको महाकुम्भ मानिने ‘मेट गाला’को रेड कार्पेटमा समेत कतिपय सेलेब्र‍िटीका साथमा लाबुबु देखिएको छ।

1000009089

नेपाली बजारमै पनि टी–सर्टदेखि बालबालिकाका झोलामा यसको ‘थ्रीडी प्रिन्ट’ देखिन थालेको छ। यसअघि भने टी–सर्ट र झोलामा ‘स्पाइडरम्यान’, ‘फ्रोजन’का एल्सा र एना, ‘एभेन्जर्स’ र ‘कार्स’जस्ता फिल्मी पात्रहरू हुन्थे।

तर कुनै मिडिया वा फिल्मको सहयोगबिना लाबुबु कसरी फेसन र डिजिटल दुनियाँमा एक विशेष समुदायको पहिचान बन्न पुग्यो त?

लाबुबु ‘द मोन्स्टर्स’ नामक कथासंग्रहका काल्पनिक पात्रको भौतिक स्वरूप हो। सो कथासंग्रहमा विभिन्न प्रकारका लाबुबु छन्। हङकङका कलाकार कासिन्थ लुङले सन् २०१६ मा बनाएको यो पात्र बेलायत, स्विट्जरल्यान्ड, आइसल्यान्ड, फिनल्यान्ड, स्क्यान्डिनेभिया, नेदरल्यान्ड जस्ता देशमा प्रचलित लोककथाको ‘एल्भ्स’ पात्रबाट प्रेरित छ। होचा, छोटा कान र असामान्य आँखा तथा हाँसो भएका एल्भ्सलाई उनले आफ्नो कलाकौशलले थप परिमार्जन गरेर लाबुबुको रूप दिएका थिए।

लाबुबु कसरी बन्यो लोकप्रिय?

कलाकार लुङको बाल्यकाल नेदरल्यान्डमा बितेको थियो। त्यहाँ उनी लोककथाका पात्र, प्रसंग र मिथकीय पात्रहरूसँग घुलमिल भए। बाल्यकालमा सुनेका कथा र किंवदन्ती अनुसारका सामूहिक सम्झनामा उनले सम्भावना देखे र लाबुबु बनाए। हाल यसको उत्पादन र वितरण चिनियाँ कम्पनीले गरिरहेको छ।

एउटा लाबुबुको औसत मूल्य ३० अमेरिकी डलर (करिब ४ हजार रुपैयाँ) हुन्छ। प्रिमियम लाबुबुको मूल्य भने यसभन्दा बढी हुन्छ। युरोपेली लोककथाका मिथकीय पात्रलाई भौतिक आकृतिमा ल्याउँदा लाबुबुको बनावट जापानी ‘एनिमे’ र ‘माङ्गा’ (क्रमशः कार्टुन र चित्रकलाको शैली)सँग मिल्दोजुल्दो देखियो। यसले गर्दा विभिन्न महादेशका अवधारणाले काम गर्‍यो।

एनिमे र माङ्गा ९०को दशकका पुस्तादेखि हालका ‘जेन-जी’ पुस्तासम्मको रुचिको विषय हो। डिजिटल युगका अधिक प्रयोगकर्ता पनि ‘मिलिनियल्स’ (९०को दशकमा जन्मिएका) र ‘जेन-जी’ पुस्ता नै हुन्।

यसै क्रममा, सन् २०२४ मा दक्षिण कोरियाली म्युजिक ब्यान्ड ‘ब्ल्याकपिंक’की लिसाले एउटा भिडियो सार्वजनिक गरिन्। सो भिडियोमा उनले पाँच वटा बट्टाबाट उस्तै आकारका तर फरक रङका पुतली निकालिन्। उनलाई भने पहेँलो रङको पुतली चाहिएको थियो।

किनकि, लाबुबु खरिद गर्दा कस्तो रङ वा शैलीको पर्छ भन्ने कुरा पनि ‘सरप्राइज’ नै रहन्छ। आफूले खरिद गरेको सामग्रीबारे क्रेतामा रहने यो उत्साह पनि बजार प्रवर्द्धनको एउटा शैली भएको जानकारहरू बताउँछन्।

लिसापछि अमेरिकी गायिका रिहाना, डुआ लिपा हुँदै भारतीय अभिनेत्रीहरूले पनि आफ्नो झोलामा लाबुबु झुन्ड्याउन थाले। क–कसले लाबुबु किने भन्ने कुरा समाचार बन्न थाल्यो। लाबुबुलाई प्रायः झोलामा झुन्ड्याउने गरिन्छ। हाल यसको बजार मूल्य ४२३ मिलियन डलर (करिब ६० अर्ब रुपैयाँ) बराबरको छ।

1000009090

‘फोर्ब्स’ म्यागजिनले लाबुबुको विश्वव्यापी लोकप्रियतालाई आधुनिक क्रेताको वस्तु खरिद व्यवहार र भाइरल संस्कृतिसँग जोडेको छ। लाबुबु केवल एक ‘शो-पिस’ खेलौनाको क्रेज मात्र नभई क्रेताको मनोविज्ञान, नोस्टाल्जिया र डिजिटल युगका युवाहरूमा कुनै एक वस्तुले सामाजिक मानक कसरी स्थापित गर्न सक्छ भन्ने उदाहरण बनेको छ। सन् ९०को दशकका संगीतलाई जोडेर टिकटकमा लाबुबुका तस्वीर, भिडियो, ‘अनबक्सिङ’ ट्रेन्ड, बाल्यकालका कथा, मिथकीय पात्र र समकालीन युवाको फेसनको समिश्रणले लाबुबुलाई भाइरल बनाइदिएको छ।

लाबुबुको भविष्य

लाबुबुले विश्वबजारमा व्यापार गरिरहँदा केही देशले यसलाई निषेधसमेत गरेका छन्। उदाहरणका लागि, रुसले यसलाई दानवी आकृतिमा देखिएकाले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै प्रतिबन्ध लगाएको छ। यद्यपि, हालसम्म कुनै पनि सर्वेक्षणले लाबुबुले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारेको उल्लेख गरेको छैन।

त्यस्तै, सांस्कृतिक संवेदनशीलता देखाएर इराकले पनि लाबुबुलाई प्रतिबन्ध लगाएको छ। यता, बेलायतमा अत्यधिक माग र सुरक्षाको कारणले केही समयका लागि लाबुबुको आधिकारिक बिक्रेता ‘पप मार्ट’ बन्द गरिएको छ।

यसका साथै, लाबुबुका नक्कल गरिएका सामग्री पनि बजारमा देखिन थालेका छन्। ‘पप कल्चर’अन्तर्गत पर्ने यस्ता फेसन र शैली केही समयका लागि उच्च प्रचलनमा रहे पनि तिनीको आयु छोटो हुन्छ। नयाँ ट्रेन्ड र फेसनतर्फ मानिसको रुचि सर्न थाल्छ। यस्तोमा, लाबुबुले आफ्नो सान्दर्भिकता कहिलेसम्म र कसरी कायम राख्छ भन्नेमा बजार विश्लेषक तथा अर्थविद्हरू उत्सुक छन्।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति