काठमाडौं । गत सोमबार र मंगलबार भएको जेनजी पुस्ताको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको शक्तिशाली गठबन्धन सरकार ढलाएपछि शुक्रबार नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई यतिबेला सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । कलाकारहरूले पनि उनी प्रधानमन्त्री बनेकोमा खुसी व्यक्त गर्दै देश नयाँ युगमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।
कलाकार हरिवंश आचार्यले फेसबुकमा एक पोस्ट लेख्दै सुशीला कार्कीको नेतृत्वले भ्रष्टाचार र देशको बेथितिविरुद्ध उभिएका युवाहरूको सपना पूरा गर्ने प्रणालीको विकास गर्न सबैले साथ दिनुपर्ने बताएका छन् । देशको विषम परिस्थितिमा राष्ट्रपति र नेपाली सेनाले खेलेको अभिभावकत्व भूमिकाको पनि उनले प्रशंसा गरेका छन् ।
अभिनेता अनमोल केसीले प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शपथ लिनसाथ ‘इतिहास रचियो’ भन्दै खुसी व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहास रचियो ! नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । यो जित हाम्रो पुस्ताको साहसले सम्भव भएको हो । यस्तो साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा साँच्चिकै गर्व लागेको छ ।’
यसैगरी अभिनेता प्रदीप खड्काले नयाँ अन्तरिम सरकारलाई बधाई दिँदै देश र जनताको लागि आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गरेका छन् । उनले उज्ज्वल भविष्य र समृद्ध नेपालप्रतिको आशा जीवित राख्न योगदान गर्ने योद्धाहरूप्रति कृतज्ञता व्यक्त गर्दै देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू’ भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई जिम्मेवारी बोध गराएका छन् । अर्का अभिनेता पल शाहले आमाको ममतामयी स्पर्शले मुलुकले नेतृत्व पाएकोमा खुसी व्यक्त गर्दै नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन् ।
त्यस्तै, अभिनेत्री केकी अधिकारीले सतिले सरापेको ग्लानि भाव त्यागेर आमाको आशिषले समुन्नत देशको नयाँ चिनारी हेर्न आतुर रहेको उल्लेख गर्दै सकारात्मक भविष्यको आशा प्रकट गरेकी छन् । अर्की अभिनेत्री स्वस्तिमा खड्काले ‘एक जुगमा एक दिन एक चोटि आउँछ’ भन्ने गीतको हरफ लेख्दै प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाएकोमा गौरव महसुस भएको बताएकी छन् ।
निर्देशकहरू निश्चल बस्नेत, सन्तोष सेन, अभिनेताहरू संजोग कोइराला, पुष्प खड्का, सलोन बस्नेत, अभिनेत्रीहरू झरना थापा, निरुता सिंह, सुरक्षा पन्त, नम्रता श्रेष्ठ, बेनिशा हमाल, आँचल शर्मा, नीता ढुंगाना, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, दिव्या रायमाझी, क्रिस्टिना गुरुङ, सुहाना थापा लगायतले पनि सुशीला कार्की प्रधानमन्त्री भएकोमा खुसी व्यक्त गरेका छन् ।