काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आन्दोलनकारीहरूको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् ।
बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने ।’
मन्त्रालयको जिम्मेवारी कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने पनि उनले अन्तर्वार्तामा बताएकी छन् । राजनीतिक व्यक्तिलाई मन्त्रिपरिषद्मा नराख्ने र विषय विज्ञलाई मन्त्रीमा प्राथमिकता दिने उनले अन्तर्वार्तामा उल्लेख गरेकी छन् ।
शुक्रबार प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी छन् । ती मन्त्रीलाई सोमबार राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
रामेश्वरप्रसाद खनालले अर्थ, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्यालले गृह; कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ४ सदस्यीय भएको छ । ११ सदस्यीय मन्त्रिपरिषद् बनाउन कार्कीले अझै ७ जनालाई मन्त्री बनाउनु पर्छ । कार्कीले मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने हुन् भन्ने टुङ्गो छैन । कसलाई मन्त्री बनाउने भन्नेबारे निकटस्थहरूसँग उनी छलफलमा छिन् ।