शङ्कास्पद अवस्थामा युवती मृत फेला

विराटनगर । खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएकी छिन् ।

स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मिका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा मृत भेटिएकी हुन् ।

सहकारीका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिका आइतबार अपराह्न ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा रेश्मिकाको शव सडकभन्दा करिब १५० मिटर तल बाँसघारीमा भेटिएको हो ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । जिल्लाबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको टोली पनि घटनास्थलमा पुगेको छ ।

घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको आशङ्का गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ ।

सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ । त्योभन्दा केही तल झोला र अन्डरवेर भेटिएको छ । सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आफन्तका अनुसार घटनाअघि तिरतिरेधाराबाट ४.५३ बजेतिर रेश्मिका र श्रीमानबिचमा फोन सम्पर्क भएको थियो । त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो । त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखापरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति