काठमाडौं । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको अलराउण्ड प्रदर्शनमा पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपमा युएईलाई ४१ रनले हराउँदै सुपर फोरमा स्थान बनाएकोछ । समूह ए को निर्णायक खेलमा पाकिस्तान जितका साथ सुपर फोरमा पुगेको हो ।
जित्नलाई १ सय ४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमा १ सय ५ रनमा अल आउट भयो । युएईका राहुल चोपराले ३५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । ओपनर मोहम्मद वासिम १२, एलिशान शराफू १४, मोहम्मद जैब ४, ध्रुब परेशार २० र आसिफ खान डक आउट भए ।
पाकिस्तानका स्पिनर अब्रार अहमदले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । शाहिन शाहले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, सैम अयुब र सलमान अली अघाले १-१ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । पाकिस्तानका फखर जमानले ३६ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
तल्लोक्रममा शाहिन शाह अफ्रिदीले १४ बलमा ३ चौका र २ छक्कासहित २९ रनको अविजित इनिङ खेले । उनले अन्तिम ओभरमा मोहम्मद रोहिदलाई दुई छक्का र एक चौकासहित महत्वपूर्ण १८ रन जोडेका थिए ।
ओपनर सैम अयुब पहिलो ओभरको पाँचौ बलमा शून्यमा मोहम्मद रोहिदबाट डीपथर्डमा क्याच आउट भए । उनी लगातार तीन खेलमा (युएई,भारत र ओमान) शून्यमा आउट भएका हुन् ।
अर्का ओपनर सहिबजादा फरान १२ बलमा ५ रनमा आउट भए । एक समय २.४ ओभरमा ९-२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटलाई कप्तान सलमान अलि अघा र जमानले ६१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । अघा २७ बलमा २ चौकासहित २० रनमा डीपएक्ट्रा कभरमा हैदर अलीबाट समातिन पुगे ।
पाकिस्तानको मध्यक्रम समस्याले निरन्तरता पाउदै हसन नवाज ३, खुशदिल शाह र मोहम्मद नवाज ४-४ रनमा आउट भए ।युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । अर्का स्पिनर सिमरनजित सिँहले ४ ओभरमा २६ रन खर्चेर ३, ध्रुब परेशारले १ विकेट लिए ।
समूह ए बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ । अव शुक्रबार भारत र ओमान खेल्नेछन् । उक्त खेलपछि समूह ए को विजेता र उपविजेता टुंग्गो लाग्नेछ ।