विदेशबाट फर्किएर च्याउखेतीमा जमेकाअजित

बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले वैदेशिक रोजगारीका क्रममा तीन वर्ष दुबईमा बिताए। सोचेजस्तो कमाइ नभएपछि गाउँ फर्किएका उनी अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाख रुपैयाँभन्दा बढी बचत गरिरहेका छन्।

दुबईको त्यो तातो घाम, पसिना र परदेशको पीडाले थिचिएका भुजेल च्याउको टनेलभित्र जीवन निर्वाहको आधार देखिरहेका छन्।  

उनले दुबईमा काम गर्दा महिनाको ३५–४० हजार रुपैयाँ कमाउँथे। पैसाले जीवन चलाउन सजिलो थिएन। आफूलाई खानाखर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो। “बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो,” उनी भन्छन्, “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो। अब विदेश होइन, देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती थालेँ।”शुरूका दिनमा दुःख भए पनि अहिले व्यवसायले फन्को मार्‍यो।

“२०७० सालमा दुईवटा टनेलमा २ लाख २७ हजार रुपैयाँ लगानीमा शुरू गरेको थिएँ। उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो। अहिले बजारको समस्या पनि हट्यो, सबै राम्रो छ,” उनले भने।

अहिले भुजेलले १२  टनेलमा च्याउखेती गर्दै आएका छन्। ती टनेलबाट अफसिजनमा दिनहुँ करिब ३०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ। सिजनमा ६०० किलोसम्म उत्पादन हुन्छ। पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो।

उनका अनुसार त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ। प्रतिकिलो ६० देखि ८० रुपैयाँमा बिक्री गर्नुपर्छ। “अहिले भने मैले प्रतिकिलो १६० देखि १७० रुपैयाँसम्ममा बिक्री गरिरहेको छु,” उनले सुनाए।

अहिले वर्षमा २२ देखि २४ लाख रुपैयाँसम्मको च्याउ बिक्री हुने गरेको र खर्च कटाएर १८ लाख हाराहारी बचत हुने उनको भनाइ छ। “व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले २० देखि ३० रुपैयाँ कम मूल्यमा दिने गरेका छौँ। आफैले बजार पुर्‍याउन सके अलिक नाफा हुन्छ,” उनले भने, “धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैले पुर्‍याउने गरेको छु विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारीहरू नै लिन आउने गरेका छन्।”

अहिले उनले टनेलमा दुई जना युवालाई रोजगारी दिएका छन्। च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ। त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लास्टिक र झुल पनि चाहिन्छ। “चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ। यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो छ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति